बेनी नगरपालिकाको प्रवेशद्धार नजिकै रहेको चौतारीमा जिल्लाको प्रमुख पर्यटकीयस्थलको तस्वीर सहितको विवरण राखिएको छ । बेनी नगर सहित जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तब्यलाई लस्करै चिटिक्क पारेर सजाएर राखिएको छ । बसपार्क नजिक मालपोत भवन अगाडि रहेको बर र पिपलसहितको उक्त चौतारीको स्वरूप नै परिवर्तन भएको छ ।

चौतारीको एक छेउमा तीन वटा मठ निर्माण गरिने छ भने अर्को छेउमा पिउने पानीका लागि सार्वजनिक धारासहित बगैँचा निर्माण गरिएको छ । शनिबार पिपलको परिक्रमा, पूजा गर्ने,दियो बाल्ने तथा जल चढाउन आवश्यक पर्ने सम्पूर्ण संरचना बनाइएको छ ।

कालिगण्डकी र म्याग्दी नदीको दोभानमा रहेका चौतारीलाई समेत विस्तार गरी पूजाआजा गर्न मिल्ने र नजिकै मलामीको विश्रामस्थल समेत निर्माण गरिएको छ ।सदरमुकाम बेनीमा मानवबस्तीको विस्तारसँगै पुराना चौतारी पुनःनिर्माण गरी संरक्षण अभियानलाई तिब्र पारिएको छ ।

चौतारीको पुनःनिर्माण मात्रै नभई आधुनिक तथा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तब्यलाई समेत समेटेर पूरानो स्वरुपलाई असर नगर्ने गरी नयाँ बनाइएकोे बेनपा–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।

‘चौतारी बनाउने दाताहरूलाई समेत जानकारी गराएर मर्मत गरेका छौ,‘तत्कालिन समयमा चौतारी बनाउनेहरू पनि निकै खुसी हुनुभएको छ’ अध्यक्ष श्रेष्ठले भने ।उनले वडाभित्र रहेका बर र पिपलसहितको चौतारी संरक्षणका साथै बेनी– महारानीथान सडकखण्डमा रहेको पूरानो पोखरीलाई समेत मर्मत सुरु गरिएको बताए ।

उनले सबैजसो चौतारी अपाङ्गमैत्री हुने भएकाले ह्वील चियरको माध्यमबाट सिधैँ चौतारीमा गई विश्राम लिन मिल्ने गरेर निर्माण गरिएको बताए । बेनी बजारभित्र रहेका १७ चौतारीको संरक्षण सहित नियमित मर्मतका लागि समेत कोष बनाउने तयारी रहेको नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष श्रेष्ठले बताए ।

बेनी बजारका कृष्णप्रसाद श्रेष्ठ,चन्द्रकुमार श्रेष्ठ र मेजरमान श्रेष्ठका हजुरआमा चन कुमारी श्रेष्ठ लगायत विभिन्न दाताहरुले करिव दुई सय वर्ष निर्माण गरेको चौतारी आसपासमा पूरानो जानकारी सहितको परिचय समेत राख्ने वडा कार्यालयले जनाएको छ । बजारभित्रका चौतारीलाई विश्रामस्थल बनाउने वडा कार्यालयको अभियानमा स्थानीयबासी र चौतारी र बरपिपल रोपेकाका आफन्तहरूले समेत सहयोग गरेपछि अहिले पुननिर्माणमा सहज भएको छ ।

चौतारीको संरक्षणसँगै वडा कार्यालयमार्फत निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बरपिपललाई धार्मिक, पौराणिक एवम् वातावरणीय महत्वका बारेमा जानकारी दिने गरी भ्रमण समेत गराउने योजना बनाइएको छ । हिन्दु धर्मावलम्बिले पिपलको वृक्षलाई विष्णु भगवानको प्रतिक मानेर पुजा गर्छन् ।

वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनिय मानिन्छ । किनकी यो यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ । पिपलबाट सधैं अक्सिजनको संचार हुन्छ । पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रुपमा प्रयोगमा आउछ ।

 

Leave a Reply