२० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिताको मंगलबार बेनीमा उद्घाटन भएको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै नगरप्रमुख केसले बेनीको खुल्ला मञ्च खेलमैदान देख्ने वित्तिकै खेलाडीलाई खेलुखेलु लाग्ने बनाउने बताए । ‘आगामी वर्ष थप बजेट व्यवस्थापन गरेर जिल्लाकै गौरवको रुपमा रहेको खुल्ला मञ्च खेलमैदानलाई विस्तार र स्तरोन्नति गर्नेछौ’ मेयर केसीले भने ।

दुई वर्षदेखि रोकिएको खेलमैदान निर्माणलाई पूर्णता दिन चालु आर्थिक वर्षमा नगरपालिकाले बिनियोजन गरेको ५० लाख र प्रदेश सरकारको ८ लाख बजेटबाट काम शुरु भइसकेको बताए । म्याग्दीमा फुटवल खेलाडी उत्पादन र खेलप्रतिको आकर्षण बढाउन जेसीज कप प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

विद्यालय तहदेखि नै विद्यार्थीहरुमा अहिले फुटवल प्रतिको मोह यसै प्रतियोगिताले बढाएको उनले बताए । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले प्रतियोगिताको आयोजक म्याग्दी जेसीज भएपनि सवै जिल्लाबासी र सरोकारवालाहरुले साझा प्रतियोगिताको रुपमा लिएकाले नै जेसीजकपको निरन्तरता सम्भव भएकामा जोड दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जिल्लामा फुटवल खेलको विकासमा जेसीज कपको योगदानको चर्चा गर्दै खेलाडीहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गरेका थिए ।म्याग्दी जेसीजका शाखा अध्यक्ष खत्रीको अध्यक्षता, प्रतियोगिताका मुल संयोजक दिनेश बानियाँको स्वागत र महासचिब विश्मा श्रेष्ठको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो

मंसीर २४ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा १८ विद्यालयले सहभागीता जनाएका छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको नारा ‘‘जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन’’भन्ने रहेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक दिनेश बानियाले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।सेमी फाइनलमा पुग्ने २ टिमलाई रु. ५ हजार उपलब्ध गराइनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार र अनुशासित टिमलाई रु. सात हजार ७७७ पुरस्कार प्रदान गरिने भएको छ ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स इन्स्योरेन्स र बेनी सञ्जिवनी हेल्थ क्लिनिक हेल्थ पार्टनर रहेको छ । खेलाडीको खेलमैदान हुँदाको अवस्थाको रु. एक लाख सम्मको स्वास्थ्य बिमा समेत गरिएको छ । विद्यालय तहका विद्यार्थीहरुमा लोकप्रिय खेल जेसीजकप फुटबलले म्याग्दीमा खेलाडी तथा रेफ्रि उत्पादनमा योगदान गरेको छ । यसपाली सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्टरलाई पुरस्कृत गरिने म्याग्दी जेसीजले जनाएको छ ।

जेसीजकपबाट पहिचान भएका खेल प्रतिभालाई विभिन्न विद्यालयले निशूल्क पठनपाठनको व्यवस्थाका साथै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका छन् । हालसम्म प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका छन् ।

Leave a Reply