लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज (मङ्गलवार) म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटको बगरफाँटमा महिला हिंसाविरुद्ध सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने यस वर्षको राष्ट्रिय नारासहित कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले संसारमा जम्मा दुईवटा जात महिला र पुरुष मात्र रहेकाले कसैले पनि हिंसा गर्न नहुने बताउनुभयो । उहाँले आफ्नो आवश्यकता पुरा गर्नका लागि अरुको हात थापिरहनुपर्ने अवस्था रहुन्जेलसम्म महिलामाथि हिंसा भैरहने बताउँदै महिलाहरुलाई पेशा, व्यवसाय तथा उत्पादनसँग जोडिएर आयआर्जन गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला अधिकारकर्मी एवं महिला अधिकार मञ्चका सल्लाहकार जमुना आचार्यले आर्थिक सशक्तिकरण र बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले प्रजनन् स्वास्थ्य तथा अस्पतालमा स्थापना भएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र मार्फत उपलब्ध सेवा सुविधासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

यसैगरी मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले लैङ्गिक हिंसा न्युनीकरणमा महिला आन्दोलनको इतिहास र उपलब्धिहरु एवं सुआहारा कार्यक्रमका विज्ञ बालकुमारी पुनले स्वास्थ्यमा पोषणको महत्वसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

सोही कार्यक्रमको अवसरमा दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीले मुठ्ठीदान अभियानअन्तर्गत बगरफाँटका विपन्न खड्कबहादुर थापाको परिवारलाई पाँचहजार पाँचसय ५५ रुपैयाँ बराबरको सहयोगमा एक पिस चामल, चिनी, चियापत्ती, खानेतेल, दाल, मसला, साबुनलगायत दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको थियो । प्रगति बगरफाँट आमा समूहका महिलाहरुलाई सचेतीकरण गरिएको कार्यक्रम समूहका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षता, सचिव सावित्रा साहको सञ्चालन र दिदीबहिनी सहकारीका अध्यक्ष विष्णु गौतम सापकोटाको स्वागतमा सम्पन्न भएको थियो।

कार्यक्रमको औचित्यमाथि मिलन म्याग्दीका कार्यकारी निर्दैशक दिलमाया बिटालुले प्रकाश पार्नुभएको थियो भने कार्यक्रम बगरफाँट प्रगति आमा समूह र दिदीबहिनी सहकारीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दीले समन्वय तथा आर्थिक सहयोग गरेको थियो । यस्तै मिलन म्याग्दी, सुआहारा दोस्रो कार्यक्रम र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्यक्रममा सहकार्य गरेका थिए ।

Leave a Reply