लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज (मङ्गलबार) महिला अधिकार मञ्च सचिवालय संस्था मिलन म्याग्दीको आयोजनामा लैङ्गिक हेल्प डेक्स स्थापना भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने यस वर्षको राष्ट्रिय नारासहित हेल्प डेक्स स्थापना गरिएको हो ।

अभियानअन्तर्गत लैङ्गिक हेल्प डेक्स स्थापना तथा प्रतिबद्धता जाहेर कार्यक्रम गरिएको मिलन म्याग्दीले जनाएको छ । लैङ्गिक हेल्प डेक्स स्थापनाको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाको निवर्तमान अध्यक्ष थमसरा पुनले डेक्समार्फत लैङ्गिक हिंसामा पर्ने महिला तथा बालबालिकाहरुको आवश्यकता पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु भन्ने प्रतिबद्धतासहित व्यानरमा हस्ताक्षर समेत गरिएको थियो ।

कार्यक्रममा मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालु, मिलन म्याग्दीका कोषाध्यक्ष ज्ञानुकुमारी केसी, कार्यसमिति सदस्य विष्णुकुमारी रोका र महिला अधिकार मञ्चका उपाध्यक्ष विष्णु गौतम सापकोटाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम मिलन म्याग्दीका सचिव तिलकुमारी रानाको अध्यक्षता र कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।

लैङ्गिक तथा महिला हिंसालगायत विविध समस्याहरुमा परेका महिलाहरुको उत्थान तथा उनीहरुको हकहित र कानुनी एवं स्वास्थ्योपचारका लागि आवश्यक पैरवी गर्ने उद्देश्यसहित लैङ्गिक हेल्प डेक्स स्थापना गरिएको हो । यही मंसिर ९ गतेदेखि देशैभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरु भैरहेका छन् ।

Leave a Reply