सुनिल सुबेदी म्याग्दी सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो बेनी (भद्रीबम) शिवालय मन्दिरको नयाँ पुजारी हुन्।सुनिलको उमेर हो, १९ वर्ष। करिब ४ महिना अगाडी मूल पुजारीमा नियुक्त भएका सुबेदी मन्दिरको दैनिक नृत्य पूजा, रुद्री पूजा लगायत भक्तजनको चाहना अनुसारको पूजापाठमा व्यस्त हुन्छन्।

पाका र अनुभवी पुजारीहरूको भिडमा दैनिक भक्तजनको चाप लाग्ने मन्दिरको जिम्मा युवा पुजारीलाई दिएपछि धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ भन्नेमा शंका गर्नेहरू नै अहिले उनीबाट सेवा लिन्छन्। अहिलेका युवापुस्ताको रोजाइमा निकै कम पर्ने संस्कृत विद्याको महिमा र महत्त्वका बारेमा जानकारी पाएर आकर्षित भएपछि उनले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत माविबाट मावितह र पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठबाट तीन बर्षे शास्त्री तह पास गरेका छन्।

संस्कृत विषयमा (स्नातकोत्तर तह) को अध्ययनरत सुबेदीले संस्कृत भाषामा ज्ञान र बुद्धिको भण्डार भेटेको बताए।उनले उमेरले दुई दशक नजिक पुगे पनि संस्कृत भाषाका बारेको ज्ञानले पाको बनाएको बताए। म्याग्दीको मंगला गाउँपालिका–२,सल्यानका सुबेदीले आफ्नो उमेरलाई आधार बनाउनेहरूलाई नै सेवा दिने पाएकोमा पनि छुट्टै आनन्द महसुस भएको बताए।

उनले गाउँघरबाट स्वदेश तथा विदेशमा रहेका आफ्नै उमेरका साथीबाट समेत आफ्नो पेसालाई सम्मान हुने गरेको बताउँदै अहिले समयमै संस्कृत विद्या रोजेको महसुस भएको बताए। अथाह ज्ञान, विज्ञान, चेतनाको स्रोत बोकेको संस्कृत ज्ञानको यात्रालाई फराकिलो बनाउन अहिलेको जिम्मेवारीले समेत थप सहज भएको बताए।

रामायण, पुराण, महाभारत जस्ता विश्वमा नै चर्चित र मूल्यवान ग्रन्थहरूले यो सृष्टिको परिचय बोकेको उनले बताए। मन्दिरको मुल पुजारी नियुक्ति भएपछिको कार्यसम्पादनबाट व्यवस्थापन समिति समेत सन्तुष्ट देखिएको सुबेदीको भनाई छ।

उनले मन्दिरको समय बाहेकको समयमा व्यक्तिगत चाहना अनुसार पूजा गर्न जाने क्रममा समेत मन्दिर व्यवस्थापन समितिलाई जानकारी दिने गरेको बताए। अहिले म्याग्दीमा २० वर्ष आसपासको उमेरका रञ्जित आचार्य, विवेक सुबेदी, अच्युत सुबेदी पूजापाठमा सक्रिय रहेको उनी बताउँछन्।

यता शिवालय मन्दिरका अध्यक्ष विक्रम श्रेष्ठले मुलपूजारीको कार्यबाट भक्तजनहरू अत्यन्त सन्तुष्ट पाएको बताए। करिब ५ बर्षदेखि पूजापाठमा संलग्न रहेको अनुभवसँगै अहिले उच्च शिक्षा अध्ययनको क्रममा भारतको बनारसको विद्यापीठसँग समेत नियमित सम्पर्कमा रहेको पाइएको अध्यक्ष श्रेष्ठले बताए। नयाँ पुस्तालाई दर्शन, धर्म, ज्योतिषप्रति आकर्षण बढाउन समेत पुजारी सुबेदीको गतिविधिले थप टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।

नेपाल एकीकरण हुनुअघिको तत्कालीन १४ देखि १७ औँ शताब्दीका बाइसे चौबिसे राज्यका पालामा ठुलो बरको रुखमा निर्मित मन्दिरलाई धार्मिक गन्तव्य समेत बनाउन सकिने उनले बताए। मन्दिर तत्कालीन ज्यामरुककोटे राजा भद्रिबम मल्लले चार सय वर्ष पहिले स्थापना गरेको किम्बदन्ती छ। यो मन्दिरको इतिहास राजाहरूसँग जोडिएकाले समेत स्थानीयवासीले एक दशक यता मन्दिरको प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

Leave a Reply