२० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिता अन्तरगत बुधबार ६ खेल सकिएको छ । खुल्लामञ्चमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा न्यू वेष्ट पोइन्ट माविले म्याग्दी एकेडेमीलाई १ गोल प्रहार गरेको थियो । त्यस्तै बुद्ध एकेडेमी र बालमन्दिर आधारभूत विद्यालय विच भएको खेलमा निर्धारित समयमा खेल बराबरीमा सकिएपछि पेनाल्टीमा सुट आउटमा ५ का विरुद्ध ६ गोल गर्दै बालमन्दिर विजयी भएको छ ।

म्याग्दी एकेडेमीले डिफेन्डिङ च्याम्पियन न्यू वेष्ट प्वाइन्टलाई हम्मेहम्मे पारेको थियो भने गतबर्षको उपविजेता बुद्ध एकेडेमीलाई बालमन्दिर आमाविले पराजित गरेको थियो । त्यस्तै आजै भएको तेस्रो खेलमा केवि एकेडेमी दरवाङले लिटल गार्डेन एकेडेमी बेनीलाई पेनाल्टीमा ४ का विरुद्ध ५ गोल गरेको थियो । निर्धारित समयमा दुवै विद्यालयले १÷१ गोल गरेका थिए । त्यस्तै माउन्ट एभरेष्ट मावि र हेम मावि सिवाङ विच भएको खेल अत्यन्तै कडा प्रतिस्पर्धा भएको थियो ।

निर्धारित समयमा गोल रहित बराबरीमा खेल सकिएपछि पेनाल्टीमा ३ का विरुद्ध ४ गोल गर्दै माउन्ट विजयी भएको म्याग्दी जेसीजका महासचिव दिनेश कुमार विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार चन्द्रकुन्ता किसानी मावि र भिम मावि विच भएको खेलमा २ का विरुद्ध ४ गोल गर्दै चन्द्रकुन्ता विजयी भएको छ भने अन्तिम छैठौँ खेलमा बेनी बोर्डिङ आवासीय विद्यालय विजयी बनेको छ । बेनी बोर्डिङले जामुनाखर्क माविलाई ० का विरुद्ध २ गोल गर्दै पराजित गरेको थियो ।

बुधबार भएको खेलमा न्यू वेष्ट पोइन्टका सुमन थापा, बालमन्दिरका सविन खोरजा, केवि एकेडेमीका निखिल रोका, माउन्ट एभरेष्टका सनम विक, चन्द्रकुन्ता माविका अमृत रसाईली र बेनी वोर्डिङका अनेष भण्डरीले म्यान अफ द म्याचको पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगिताको टाईटल स्पोन्सर गौमती विकास कोष र प्रायोजकमा लालीगुराँस अफसेट प्रेस रहेको छ ।

प्रतियोगिताको नारा ‘‘जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन’’भन्ने रहेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक दिनेश बानियाले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।सेमी फाइनलमा पुग्ने २ टिमलाई रु. ५ हजार उपलब्ध गराइनेछ ।

प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार र अनुशासित टिमलाई रु. सात हजार ७७७ पुरस्कार प्रदान गरिने भएको छ । हालसम्म प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका छन् ।

Leave a Reply