म्याग्दीको बेनी बजारको खुल्ला मञ्चमा सञ्चालन भैरहेको २० औँ जेसिज कप अन्तर मावि फुटबल प्रतियोगिता अन्तरगत भोली (शुक्रबार) क्वाटर फाइनल र सेमी फाइनलका खेलहरु हुने भएका छन् ।

बिहिबार भएको खेलमा बेनी सामुदायिक मावि र शारदा मावि छिस्वाङसेमी फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको बिहिबार भएको क्वाटर फाइनलमा माउन्ट एभरेष्टलाई हराउदै बेनी सामुदायिक र केवी एकेडेमीलाई हराउदै शारदा मावी सेमिफाइनलमा पुगेका हुन् ।

खेलको शुरुवातमै प्रदिप छिनालको एक गोलबाट उत्साही बनेको बेनी सामुदायिकले चार पटकसम्म जेसीजकप जितेको माउन्ट एभरेष्टलाई सेमी फाइनलमा पुग्नबाट बञ्चित गरे । बेनी सामुदायिकका प्रजल बानिया म्यान अफ दि म्याच भए । सरस्वती मावि तातोपानीलाई ० का विरुद्ध ३ गोल गर्दै बेनी सामुदायिक क्वाटर फाइनल पुगेको थियो ।

केवी र शारदाको पहिलो क्वाटर फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन सकेन् । पेनाल्टी सुटआउटमा ३ का विरुद्ध ४ गोल गर्दै शारदा सेमी फाइनलमा प्रवेश गरेको हो । सो खेलमा शारदाका सिलन सिउथानी प्लेयर अफ दि म्याच बने ।

न्यु वेष्ट पोइन्ट आवासीय मावि र जनप्रिय मावि दरवाङबीच भएको नवौ खेलमा वेष्ट पोइन्टले शुन्यका विरुद्ध ५ गोल गरेको थियो । वेष्ट पोइन्टका सुनिल थापा, दिपेश पुर्जा, सुजल श्रेष्ठ, सनम थापा र विज्ञान भण्डारीले एक÷एक गोल गरेका थिए । प्लेयर अफ द म्याच सुजल श्रेष्ठ बने । प्रकाश मावीले बालमन्दिर आधारभूत विद्यालयलाई शून्यका विरुद्ध ३ गोल गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । प्रकाशका रिजन पुन, नविन परियार, पेन्नुरी शेर्पाले एक÷एक गोल गर्दा सविन राईले प्लेयर अफ दि म्याचको उपाधी पाए ।

शुक्रबार क्वाटर फाइनलका २ र सेमी फाइनलका दुई खेल सञ्चालन हुने आयोजक म्याग्दी जेसीजका शाखा सम्पादक दिनेश विश्वकर्माले बताउनुभयो । सेमी फाइनलमा न्यु वेष्ट पोईन्ट र किसानी चन्द्रकुन्ताको क्वाटर फाईनलमा बिजयी हुने टिमले शारदा माविसँग प्रतिस्पर्धा गर्नेछन् । बेनी आवासीय मावि र प्रकाश मावी बीचको क्वाटर फाइनलमा विजयी हुने टिमले बेनी सामुदायिक माविसँग सेमी फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

बुधबारदेखि शुरु भएको मंसिर २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिने म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद २ हजार ५ सय रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद ७ हजार ७७७ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सेमी फाइनलमा पुग्ने २ टिमलाई ५ हजार रुपैयाँका दरले उपलब्ध गराइनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार र अनुशासित टिमलाई सात हजार ७७७ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विद्यालय तहका विद्यार्थीहरुमा लोकप्रिय खेल जेसीजकप फुटबलले म्याग्दीमा खेलाडी तथा रेफ्रि उत्पादनमा योगदान गरेको छ ।

यसपाली सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्टरलाई पुरस्कृत गरिने म्याग्दी जेसीजले जनाएको छ । जेसीजकपबाट पहिचान भएका खेल प्रतिभालाई विभिन्न विद्यालयले निशूल्क पठनपाठनको व्यवस्थाका साथै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका छन् । हालसम्म प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका छन् ।

Leave a Reply