तिलु शर्मा पौडेल\ दोहा, कतार : कतारमा अहिले फिफाको २२ औं संस्करणको विश्वकप चलिरहेको छ । नोभेम्बर २०, २०२२ बाट शुरु भएको खेल अहिले क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा विभिन्न स्थानमा फ्यान जोनको स्थापना गरिएको छ । पहिलो पटक खाडीमा आयोजना गरिएको यस प्रतियोगितालाई सफल बनाउन थुप्रै नेपालीहरु भोलेण्टिरका रुपमा खटिएका छन् ।

भोलेण्टियरका रुपमा विभिन्न स्टेडियम, विमानस्थल, स्टेडियम प्रवेश, यातायात, मनोरञ्जन, टिकट चेकिङ लगायतका स्थलमा खटिएर सेवा गरिरहेका छन् । ती विभिन्न स्थानमा खटिएका नेपालीहरुलाई मध्यान्ह दैनिकले स्वयंसेवकको रुपमा फिफाको भोलेण्टियर भएर सेवा गर्न पाउँदा कस्तो महसुस भएको छ ? कुन क्षेत्रमा कसरी कार्यसम्पादन गरिरहनु भएको छ र तपाईंहरुलाई कस्तो लागेको छ भनेर आफ्नो अनुभव साट्न अनुरोध गरेको थियो । उनीहरुले मध्यान्हसँग साटेको भावना जस्ताको त्यस्तै :

 

विक्रम कार्की (म्याग्दी)

मैले १६ वर्षदेखि कर्मथलो बनाएको कतारले आयोजना गरेको फिफा विश्वकपमा स्वयंसेवकको रुपमा सेवा गर्न पाउँदा जीवनकै एक फरक र ऐतिहासिक खुसी महसुस गरेको छु । स्वयंसेवकका लागि दुई सय नौ देशबाट चार लाख २० हजार आवेदन आएको थियो । ५८ हजारले अन्तर्वार्ता दिँदा कतारबाट १५ हजार र बाहिरबाट ५ हजार गरी जम्मा २० हजार छनोट भएका थिए । कर्मभूमि कतारले खाडी क्षेत्रमा पहिलो पटक आयोजना गरेको फुटबलको कुम्भ मेलामा म पनि एउटा अंश हुन पाउनु मेरो लागि ठूलो कुरा हो । छनोट भएका स्वयंसेवकलाई विभिन्न २६ बढी टिममा विभाजन गरिएको छ । म यो विश्वकपको महत्वपूर्ण सेरोमनी टिममा छु र अल्खोरको अल बायत स्टेडियममा विश्वकपको उद्घाटन समारोहमा सहभागी भैसकेको छु । अब समापन समारोहको तयारीमा जुटिरहेको छु । सँगै अन्य ठाउँमा पनि सेवा गरिरहेको छु । स्वयंसेवकलाई फिफाले गत अक्टोबरदेखि नै तयार पारेको थियो । झण्डै चार लाख स्वयंसेवकमा अहिलेसम्म करिब ३ सय नेपाली सम्पर्कमा छौं । विभिन्न देशका स्वयंसेवकसँग नजिक भएर सहकार्य गर्दा छुट्टै अनुभव प्राप्त भएको छ । सेवा गर्दा विश्वमा हुने ठूला–ठूला समारोहलाई सफल बनाउन आन्तरिकरुपमा कति धेरै मिहेनत आवश्यक पर्ने रहेछ भन्ने सिक्ने अवसर मिलेको छ । बुझ्ने भए देखि नै टिभी, मोबाइलमा फुटबल खेल हेर्ने म यति सहजै विश्वकप मैदानमा सहभागी भएर हेर्न पाउँला भन्ने कल्पना नै थिएन । यो अवसरको लागि कतार सरकारप्रति म धेरै आभारी छु ।

 

कृष्ण ढकाल (स्याङ्जा)

२२ औं संस्करणको फिफा विश्वकपमा स्वयंसेवकको भूमिका निर्वाह गर्न पाउँदा म आफूले आफूलाई भाग्यमानी ठान्दछु । यो अवसर फेरि हामी नेपालीहरुले पाउन गाह्रो पर्छ, यस कारण म लगायत धेरै नेपालीहरु हर्षित छौं । हामी सम्पूर्ण नेपालीहरुलाई यो अवसर जुटाइदिएकोमा हाम्रो कर्मभूमि कतारप्रति हार्दिक अभार प्रकट गर्दछु । म अहिले अल जानुव स्टेडियम भित्र हाया रिसोलेसन सेन्टरमा आफ्नो जिम्मेवारी निभाइरहेको छु । यहाँ विभिन्न देशबाट आएका पाहुनाहरुलाई स्वागत गर्न पाउँदा निकै आनन्द आउँछ । उनीहरुको सेवामा निरन्तर खटिन पाउनु खुसीको कुरा हो । उनीहरुलाई खुसी पार्नु हाम्रो कर्तव्य हो । दिनहुँ नयाँ नयाँ दर्शकहरुसँग भेट हुने गर्दछ । यहाँ भएका हामी नेपाली स्वयंसेवकहरु आफ्नो अनुभव ह्वाटस्एप ग्रुपमार्फत साट्दै एक अर्कालाई कसरी सफल बनाउने, कसरी उत्कृष्ट सेवा दिने र आफ्नो कर्मभूमिको प्रतियोगिता कसरी सफल पार्ने विषयमा फोकस गर्दै छलफल समेत गर्दछौं ।

 

डिल्लीराम भट्टराई (रुपन्देही)

२२ औं संस्करणको फिफा विश्वकप यतिबेला हाम्रो कर्मभूमि कतारमा चलिरहेको छ । यो मध्यपूर्वको इतिहासमा पहिलो पटक आयोजित पुरुष विश्वकप फुटबल खेल प्रतियोगिता हो । यस प्रतियोगिता हेर्नका लागि विभिन्न देशहरुबाट फुटबल प्रेमीहरुको आगमन तथा प्रस्थान हुने क्रम जारी छ । विश्वका २०९ देशबाट चार लाख २० हजारले आवेदन दिएकोमा ५८ हजार जनाको अन्तर्वार्तापछि २० हजार जनाको समूहमा पर्नु मेरो लागि सामान्य कुरा पक्कै होइन । स्वयंसेवकको भूमिका निर्वाह गर्ने क्रममा विभिन्न देशका नागरिकहरुसँग घुलमिल गर्ने अवसर पाएको  छु । विगतका संस्करणलाई हामीले टेलिभिजनमा हेर्दै साथीहरुबीच छलफल गर्दै सपोर्ट गर्ने गरिन्थ्यो, तर आफ्नै कर्मभूमिमा आफैंले पसिना बगाएर बनाएका स्टेडियममा आफूलाई मनपर्ने टिम तथा खेलाडीहरुको खेल हेर्नु पाउँदा जीवन सार्थक बनेको जस्तो लागेको छ । म ‘स्पेक्टेटर सर्भिस भोलेण्टियर’को रुपमा काम गरिरहेको छु । जसमा स्टेडियम प्रवेशका लागि आउने आगन्तुकहरुलाई उनीहरुको आफ्नो सिटसम्म पुग्नको लागि सहजीकरण गर्ने गरेको छु । हामी नेपालीहरु कतारबाट झण्डै चार सय जनाको हाराहारीमा स्वयंसेवकको रुपमा विभिन्न क्षेत्रबाट सहयोगी भूमिका निर्वाह गरिराखेका छौं ।

 

ललित खड्का (दाङ)

कतारमा जारी २२ औं संस्करणको विश्वकपमा मैले पनि स्वयंसेवकको रुपमा काम गर्ने मौका पाउँदा एकदमै खुसी महसुस गरेको छु । विभिन्न देशबाट परेको आवेदनमध्येबाट मेरो नाम पर्नुलाई निकै ठुलो उपलब्धी र एउटा नौलो अवसरको रुपमा लिएको छु । कर्मभूमिप्रतिको हाम्रो प्रेम र दायित्व देखाउने हामी सबै नेपालीहरुको लागि यो सुनौलो अवसर पनि हो ।  विश्वकप जस्तो खेलको महाकुम्भको अवसरमा मैले पनि ‘फिफा भोलेण्टियर’को रुपमा काम गरिरहेको छु । मेरो कार्य क्षेत्र फिफाको मुटु मानिने दोहा एक्जिभेसन सेन्टरमा प्रतियोगिताका लागि आवश्यक पर्ने सबै क्षेत्रमा खटिएका स्वयंसेवक, फिफाका सदस्य अफिसियल लगायत सबैलाई अफिसियल युनिफर्म वितरण गर्ने रहेको छ । यो सेवा गर्ने अवसर प्रदान गरेकोमा कतार सरकार र फिफाप्रति कृतज्ञ छु । विभिन्न देशका नयाँ व्यक्तिहरुसँग परिचित भएर काम गर्न पाउँदा नयाँ सिक्ने मात्र होइन नेपालीको हैसियतमा देशको बारेमा विदेशीको सामू बयान गर्ने अवसर पाउँदा धेरै खुसी लाग्दो रहेछ जसको कुनै मोल हुँदैन रहेछ ।

 

पदम गिरी (तनहुँ)

कतारमा चलिरहेको फिफा विश्वकपको २२ औं संस्करणमा म ‘स्पेक्टाटर सर्भिस’ (दर्शक सेवा ) भोलेण्टियरको रुपमा भूमिका निभाउँदै छु । सानैदेखि टिभीमा विश्वकप हेर्दा यी खेल खेल्ने खेलाडीहरुलाई नजिकबाट देख्न पाए हुने, प्रत्यक्ष कस्ता होलान्, खेल मैदान कस्तो होला, यतिका धेरै मान्छे कसरी बसेका, कहाँ बाट आएका, कस्ता प्रविधिहरु प्रयोग भएका होलान् भन्ने कुराको कौतुहलता हुन्थ्यो । बिस्तारै ठूलो हुँदै जाँदा सो सम्बन्धितका समाचारहरुबाट जानकारी बटुलेको थिएँ । तर यस्ता जानकारीको प्रत्यक्षदर्शी भएर अनुभव गर्न पाउँदा अर्कै महसुस हुने रहेछ । कतार प्रवेशको समयमा कतारले विश्वकप गर्न पाउने बिड जितेको थियो । त्यही बेलादेखि मनमा लागेको थियो म त्यो बेला कतारमा हुन्छु कि हुँदिन होला विश्वकपको रौनक कस्तो होला, कतारले कसरी यो सबै व्यवस्थापन गर्ला, आवश्यक इन्फासट्क्चरहरु कसरी र कहिलेसम्म बनाउला भन्ने लाग्थ्यो । समयसँगै कतारले आफूलाई पूर्णरुपमा तयारी गर्दै २२ औ संस्करणको विश्वकप आयोजना गरेको छ । सपना जस्तो हाम्रो कल्पनामा गुज्रीरहेको धेरै अनुत्तरित प्रश्न र विषय वस्तुको आफैं संलग्न भई प्रत्यक्ष अनुभव गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्दछु । यसको लागि कर्मभूमि कतारलाई हृदयदेखि नै धन्यवाद पनि ।  फिफा विश्वकप २०२२ को लागि कतारबाटै १५ हजार र बाहिरबाट ५ हजार भोलेण्टियर छनोट गर्ने र इभेन्ट्मा मोबिलाइज गर्ने जानकारी पाएपछि मैले अनलाइनमार्फत भोलेण्टियरको आवेदन दिएँ । यसको धेरै नै छनोट विधि र प्रक्रिया रहेछन्, ती सबै पार गरेपछि अहिले फिफामा हार्ट सेफ लोगो भएको लुगा लगाएर दर्शकहरु नजिक हँसिलो मुद्रामा विश्वका कुना कुनाबाट आएका दर्शकहरुसँग कम्युनिकेसन गर्ने भोलेण्टियरमध्ये म पनि एक हुँ । हाल भोलेण्टियर गरिरहेका व्यक्तिहरुलाई पनि फिफाले उनीहरुको विगतका अनुभव, हालको कार्यक्षेत्र, सीप र व्यक्तिगत उत्कृष्टता हेरेर जिम्मेवारी प्रदान गरेको छ । मैले ८ सिफ्ट पूरा गरिसकेको छु । अब एउटा बाँकी छ ।

 

रमण भण्डारी (मोरङ)

यो साँच्चै जीवनको अनन्त अनुभव हो जुन मैले यो भन्दा पहिले कहिल्यै पाएको थिइनँ ।  एयरपोर्टमा परेको मेरो जिम्मेवारी निभाउँदा मैले संसारभरका विभिन्न राष्ट्रियता, तिनीहरुको संस्कृति र परम्परालाई स्वागत गर्ने, सहयोग गर्ने र अन्तरक्रिया गर्ने मौका पाएँ । मेरो जीवनमा पहिलो पटक फ्यानको रुपमा यो मेगा इभेन्ट हेर्ने मौका पनि पाएँ । यो कतार र फिफाकै कारणले सम्भव भएको हो । हरेक सिफ्टहरुमा हामीले गर्ने गतिविधिले जीवनमा नयाँ सिकाइ भइरहेको छ । नेपाली भोलेण्टिष्र करिब चार सय जना छौं । अन्त्यमा फिफा  विश्वकप कतार २०२२ टिम, आयोजक राष्ट्र कतार, स्वयंसेवक, वरिष्ठ पर्यवेक्षक र मेरा सबै सह–साथीहरुलाई धन्यवाद दिन चाहन्छु । मलाई यस विश्वस्तरीय मेगा इभेन्टको हिस्सा बन्ने मौका दिने, सिकाउने र मार्गदर्शन गरिरहनु हुने सबैप्रति आभारी छु ।

 

जनक राज काफ्ले (चितवन)

फिफामा काम गर्न पाउनु हाम्रो सौभाग्य हो तर पनि कम्पनीको काम र फिफा भोलेण्टियर एकै पटकमा हुन निकै हम्मे हम्मे पर्दो रहेछ । जस्तोसुकै परिस्थिति भए पनि पाएको अवसरलाई सदुपयोग गर्दै अलग अलग देशका भोलेण्टियरसँग नयाँ नयाँ तरिकाबाट काम र अनुभव साट्न पाउँदा खुसी लागेको छ । करिब चार सय नेपाली भोलेण्टियरका रुपमा हुनु ठूलो कुरा हो । विभिन्न स्टेडियममा परेका जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्दै अगाडि बढेको छु । खुसी छु र कर्मथलो कतार र फिफाप्रति आभारी छु ।

 

सुवास तामाङ (ओखलढुंगा)

फिफा विश्वकप २०२२ कतारमा भइरहँदा २० हजार स्वयंसेवकमध्येमा म पनि एक इभेन्ट ट्रान्सपोर्ट भूमिकामा स्वयंसेवकको रुपमा भाग लिएर सक्दो निःस्वार्थ सहयोग गरिरहेको छु । यति ठूलो प्रतियोगिताको हिस्सा बन्नु शब्दमा बयान गर्न सकिने कुरा होइन । चार सय नेपालीमध्येको एक भएर काम गर्न पाउँदा गर्व लागेको छ । अतः फिफा संगठन र कतार सरकारलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दछु ।

Leave a Reply