सदरमुकाम बेनीमा जारी २० औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधीका लागि शारदा मावि छिस्वाङ र प्रकाश मावि बेनी फाईनलमा प्रवेश गरेका छन् ।

खुल्लामञ्चमा शुक्रबार भएको सेमिफाईनलमा शारदा मावि छिस्वाङले किसानी चन्द्रकुन्ता मावि धारापानीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै शारदा मावि फाईनलमा प्रवेश गरेको हो । त्यस्तै, दोस्रो सेमिफाईनलमा प्रकाश माविले बेनी सामुदायिक माविलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । फाईनलमा प्रवेश दुई विद्यालय उपाधीका लागि शनिबार प्रतिस्पर्धा गर्ने छन् ।

सेमिफाईनलमा उत्कृष्ट खेल प्रदर्शन गरेका शारदा माविका टिम क्याप्टेन सिमन सिउथानी र प्रकाश माविका रिजन पुन प्लेयर अफद म्याच बनेका थिए । २० औँ संस्करणको जेसिज कपमा सरकारी विद्यालयले उत्कृष्ट खेल प्रर्दशन गर्दै निजि विद्यालयलाई क्वाटरफाईनलमा पराजित गरेका थिए । सेमिफाईनलमा पहिलो पटक सरकारी विद्यालयले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता रहेको थियो ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार जित्ने म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस बर्षको जेसिज कपमा गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ ।

‘‘जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन’’भन्ने मुल नाराका साथ प्रतियोगिता संचालन गरेको थियो । कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय खेल प्रतियोगिताहरुमध्येमा चर्चित मानिन्छ ।

Leave a Reply