म्याग्दीमा माध्यामिक तहमा निकै लोकप्रिय जेसिज कप फुटवल प्रतियोगितामा पहिलोपटक निजी विद्यालय क्वाटरफाइनलबाटै बाहिरिएका छन् । २० औँ अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको इतिहासमा सदरमुकाम बेनीका निजी विद्यालय सामुदायिक विद्यालयसँग पराजित भएका हुन् ।

लगातारको जेसीज कपका बिजेता तथा सेमिफाइनलमा प्रवेश गरेका निजी विद्यालयलाई सदरमुकाम बेनी र बाहिरबाट प्रतियोगितामा सहभागी हुन आएका विद्यालयले पराजित गरेको हो । जेसीज कपको डिफेन्डिङ च्याम्पियन न्यू वेष्ट प्वाइन्ट माविलाई धवलागिरी गाउँपालिका वडा नं ७ निवासी चन्द्रकन्ता किसानी माविले पेनाल्टी सुटआउटमा २ का बिरुद्ध ४ गोल प्रहार गदैं फाइनलको यात्रा तय गरेको छ ।

यसपटक सदरमुकाम बेनीकै निजी विद्यालय प्रि र क्वाटरफाइनलबाटै बाहिरिएपछि सामुदायिक विद्यालयले फाइनलको यात्रा तय गरेको म्याग्दी जेसीजले जनाएको छ । प्रतियोगिताको फाइनलमा समेत पहिलोपटक सामुदायिक विद्यालय नै भिड्ने भएको छ । जेसीज कपमा दोस्रोपटक सहभागि भएको मंगला गाउँपालिका वडा नं ५ छिस्वाङको सारदा माविले यसपटक फाइनलमा प्रवेश गरी उपाधीको दावेदारी प्रस्तुत गरेको छ भने सदरमुकाम बेनीको प्रकाश माविले समेत बेनी सामुदायिक माविलाई सेमिफाइनलमा पराजित गदैं फाइनलको यात्रा तय गरेको छ ।

प्रकाश मावि जेसीज कपको विजेता भएपनि बेनी सामुदायिक मावि पहिलोपटक सेमिफानलमा पुगेको थियो भने सदरमुकाम बाहिरको सामुदायिक मावि फाइनलमा प्रवेशको इतिहास समेत पहिलोपटक सारदा माविले बनाएको छ ।

‘जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन”’भन्ने मुल नाराका साथ ‘गौमती खत्री विकास कोष’ २० औँ अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको शनिबार फाइनल हुदैछ । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply