सदरमुकाम सम्पन्न २०औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटबल प्रतियोगिताको उपाधी पहिलोपटक सदरमुकाम बाहिरको विद्यालयले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न भएको प्रतियोगितामा प्रकाश माविलाई १–२ गोलले हराउँदै पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, छिस्वाङस्थित सारदा माविले गौमति विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको उपाधी चुमेको छ ।

निर्धारित समयमा १÷१ गोल भएपछि थपिएको अतिरित्त ५ मिनेट सकिनु भन्दा ३० मिनेट अघि सारदाका निर्मल रोकाले गरेको गोलनै निर्णायक हुन पुग्यो । प्रकाश माविका सामेल शेर्पाले १७ औ र सारदाका रुपक बुढाथोकीले २९ मिनेटमा एक÷एक गोल गरेका थिए ।

शारदा मावि जेसीजकप जित्ने सदरमुकाम बाहिरको पहिलो विद्यालय बनेको छ । यसै शैक्षिक सत्रदेखि कक्षा १० को पठनपाठन शुरु गरेको शारदाले सहभागिता जनाको दोस्रो प्रयासमै यसअघि ५ पटक जेसीजकप जितेको प्रकाश माविलाई हराउदै बिजयी भएको हो ।

समुदाय स्तरबाट चन्दा संकलन गरेर मावि तह सञ्चालन गरिएको शारदा माविका प्रअ खगेन्द्र सापकोटाले साँघुरो खेलमैदानमा गरेको अभ्यासका बावजुद विद्यार्थी र प्रशिक्षकको नतिजाले उत्साही बनाएको बताउनुभयो । धान खेतको गहमा अभ्यास गरेर प्रतियोगितामा सहभागि भएका थिए ।

बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिएको म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो ।

शारदा माविका सिमन सिउथानी उत्कृष्ट खेलाडी र देवेन्द्र पुर्जा उत्कृष्ट गोलरक्षको उपाधी पाए । प्रकाश मावीका सन्देश तामाङ उत्कृष्ट स्ट्राइकर, रिजन पुनले सर्वाधिक गोलकर्ता र मिडफिल्डर तथा सुमन पुनले उत्कृष्ट डिफेण्डरको उपाधी पाए । केवी एकेडेमी दरवाङका दिक्षित पुनले राईजिङ प्लेयर र बालमन्दिर आधारभूतकी बिर्सना चोखालले उत्कृष्ट कोचको उपाधी पाइन् ।

विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही नगद दुई हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक दिनेश बानियाले बताए । अनुसाशाषित टिम घोषित केवी एकेडेमी दरवाङलाई नगद ७ हजार ७७७ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार दिइएको थियो ।

सेमी फाइनलबाट बाहिरिएका बेनी सामुदायिक र किसानी चन्द्रकुन्ता मावी धारापानीले पाँच÷पाँच हजार रुपैयाँ पाएका छन् । सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्टरलाई पुरस्कृत गरिएको थियो । फाइनल खेल अघि बैंकर्स संघ र जेसीजका पदाधीकारीहरुबीच मैत्रीपुर्ण फुटबल भएको थियो ।

बुधबारदेखि शुरु भएको प्रतियोगितामा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको थियो ।

विद्यालय तहका विद्यार्थीहरुमा लोकप्रिय खेल जेसीजकप फुटबलले म्याग्दीमा खेलाडी तथा रेफ्रि उत्पादनमा योगदान गरेको छ । जेसीजकपबाट पहिचान भएका खेल प्रतिभालाई विभिन्न विद्यालयले निशूल्क पठनपाठनको व्यवस्थाका साथै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका छन् । यसअघि प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका छन् ।

Leave a Reply