सदरमुकाम सम्पन्न २०औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटबल प्रतियोगिताको उपाधी पहिलोपटक सदरमुकाम बाहिरको विद्यालयले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न भएको प्रतियोगितामा प्रकाश माविलाई १–२ गोलले हराउँदै पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, छिस्वाङस्थित सारदा माविले गौमति विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको उपाधी चुमेको छ ।

१ गोलले अग्रता लिएको प्रकाश माविलाई रोक्दै सारदा माविले लगातार दुई गोल प्रहार गरेको थियो । प्रकाश माविका रिजन पुनले खेल सुरू भएको २० मिनेटमा गोल गदैं खेलमा अग्रताको अवस्थामा ६५ मिनेटमा सारदा माविका रुपक बुढाथोकीले बराबरी बनाएका थिए । दुवै गोलडिएरीया र डिएरिया नजिकबाट प्रहार गरिएको थियो । खेलको अन्तिम समयमा सारदाका निर्मल रोकाले थप १ गोल गदैं उपाधी जिताउन सफल भएका थिए ।

खेलअवधिभर प्रकाश माविका खेलाडी आक्रमण देखिएपनि सारदाका खेलाडीले रणनीति बनाउँदै खेलेका थिए । यसै शैक्षिक सत्रदेखि कक्षा १० को पठनपाठन शुरु गरेको शारदाले सहभागिता जनाको दोस्रो प्रयासमै यसअघि ५ पटक जेसीजकप जितेको प्रकाश माविलाई हराउन सफल भएको छ । जेसीज कपमा दोस्रोपटक सहभागी भएको सारदा मावि १९ औ जेसीज कपमा समुह चरणबाटै बाहिरिएको थियो ।

समुदाय स्तरबाट चन्दा संकलन गरेर मावि तह सञ्चालन गरिएको शारदा माविका प्रअ खगेन्द्र सापकोटाले साँघुरो खेलमैदानमा गरेको अभ्यासका बावजुद विद्यार्थी र प्रशिक्षकको नतिजाले उत्साही बनाएको बताए । ‘खेलाडीलाई न्यूनतम आधारभुत आवश्यकता समेत पूरा गर्न सकेका छैनौ,‘धान खेतको गहमा अभ्यास गरेर प्रतियोगितामा सहभागि भएका थिए’ प्रअ सापकोटाले भने । प्रतियोगितामा उपाधीका दावेदार मानिएका विद्यालयलाई पन्छाउँदै खेलमा सहभागी भएको सारदाका खेलाडीलाई नयाँ र अनुभवको कम मानेर विपक्षीले कमजोरी सम्झिएको अवस्थामा उपाधी नै बोकेर विद्यालय फर्किएका छन् ।

विद्यालयमा नियमित अभ्यासको अभाव, अनुभवी खेल शिक्षकको कमी, फुटबल सम्बन्धि न्यूनतम ज्ञान समेत नभएको अवस्थामा विद्यार्थीले आफ्नै तरिकाले विभिन्न माध्यमबाट खेल अभ्यास सिक्दै प्रतियोगितामा सहभागी भएको विद्यालयका खेल शिक्षक पर्शुराम फगामीले बताए । ‘खेल मैदान थिएन्, धेरै अभ्यास पनि गर्न पाइएन’ खेल शिक्षक फगामीले भने । उनले खेलाडी र विद्यालयको अभ्यास प्रयाप्त नभएको अवस्थामै उपाधी जितेपछि अब जिल्लामा माविस्तरमा हुने फुटबलमा लगातार विजेता हुने गरी अभ्यासको वातावरण बनाउने बताए । बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिएको म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्रीले बताए ।

शारदा माविका सिमन सिउथानी उत्कृष्ट खेलाडी र देवेन्द्र पुर्जा उत्कृष्ट गोलरक्षको उपाधी पाएका थिए । प्रकाश मावीका सन्देश तामाङ उत्कृष्ट स्ट्राइकर, रिजन पुनले सर्वाधिक गोलकर्ता र मिडफिल्डर तथा सुमन पुनले उत्कृष्ट डिफेण्डरको उपाधी पाए । केवी एकेडेमी दरवाङका दिक्षित पुनले राईजिङ प्लेयर र बालमन्दिर आधारभूतकी बिर्सना चोखालले उत्कृष्ट कोचको उपाधी पाइन् । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही नगद दुई हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक दिनेश बानियाँले बताए ।

अनुसाशाषित टिम घोषित केवी एकेडेमी दरवाङलाई नगद ७ हजार ७७७ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार दिइएको थियो । सेमी फाइनलबाट बाहिरिएका बेनी सामुदायिक र किसानी चन्द्रकुन्ता मावी धारापानीले पाँच÷पाँच हजार रुपैयाँ पाएका छन् । सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्टरलाई पुरस्कृत गरिएको थियो । फाइनल खेल अघि बैंकर्स संघ र जेसीजका पदाधीकारीहरुबीच मैत्रीपुर्ण फुटबल भएको थियो ।

बुधबारदेखि शुरु भएको प्रतियोगितामा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको थियो । यसअघि प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका छन् ।घरेलु मैदान, नियमित अभ्यास र ब्यवसायीक खेलाडीहरूसंग समेत खेलमा सहभागी हुने सदरमुकाम बेनीका निजी विद्यालय यसपटक सेमिफाइनलमा प्रवेश नै नगरी बाहिरिएका थिए । जेसीज कपको इतिहारमा पहिलोपटक निजी विद्यालय क्वाटरफाइनलबाटै बाहिरिएको अवस्थामा सामुदायिक विद्यालयहरु सेमि र फाइनलमा भिडेका थिए।

 

Leave a Reply