पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२, बाबियाचौरको लरेनीमा महिनावारी स्वच्छता तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेलले प्रजनन स्वास्थ्य, मंगला गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र अधिकारीले नेपालमा महिला हिंसाविरुद्ध आन्दोलनको इतिहास र उपलब्धिहरु तथा सुआहारा कार्यक्रम म्याग्दीका विज्ञ बालकुमारी पुनले महिनावारी स्वच्छताको विषयमा सहजीकरण गर्नुभएको थियो । ग्रामीण भेगका महिला तथा किशोरीहरुलाई महिनावारी र प्रजनन स्वास्थ्यको विषयमा जानकारी दिन कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री एवं संविधान सभा सदस्य नरदेवी पुनले लैङ्गिक हिंसा अन्त्य गर्नका लागि व्यक्ति, परिवार र समुदाय सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाँले महिला दिदीबहिनीहरु विभिन्न पेशा तथा व्यवसायमा आबद्ध भएर आत्मनिर्भर बन्नुपर्ने बताउँदै राज्यले ल्याएको विभिन्न बजेट, नीति एवं कार्यक्रममा सहभागी भएर आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो । महिलाहरुलाई सिप सिकेर आफ्नो खुट्टामा आफै उभिनुपर्ने भन्दै समुदायस्तरमा हुने बालविवाह तथा लैङ्गिक हिंसालाई रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमको समापन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले समुदायमा विभिन्न खालका हिंसाहरु हुन सक्ने भएकाले सुन्दर तथा सभ्य समाजको निर्माण गर्नका लागि लैङ्गिक र घरेलुलगायत विविध हिंसाको अन्त्य गर्नुपर्ने बताउनुभयो। उहाँले गाउँपालिकामार्फत विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा जोड दिइएको बताउँदै समुदाय आफैले पनि सन्देशमूलक कार्यक्रम सञ्चालन गरेर हिंसाको अन्त्य गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता र मिलन म्याग्दीका सहसचिव प्रताप बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा बाबियाचौरका कार्यवाहक वडा अध्यक्ष सरस्वती उपाध्यायले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागी आशा नेपालीले अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, प्रहरीचौकी बाबियाचौरका प्रहरी सहायक निरीक्षक लालबहादुर थापा लगायतको विशेष उपस्थिति रहेको थियो ।

मिलन म्याग्दी र महिला अधिकार मञ्चको आयोजना, मंगला गाउँपालिका, सामाजिक विकास कार्यालय म्याग्दी र सुआहारा दोस्रो कार्यक्रमको समन्वय तथा सहकार्यमा कार्यक्रम गरिएको थियो । सोही अवसरमा जनआदर्श महिला बहुउद्देश्यीय सहकारी संस्था बाबियाचौरका अध्यक्ष यशुदा रोकाले लरेनीको स्थानीय आमा समूहलाई नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply