दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लि बेनीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन विभिन्न व्यक्तिलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । शनिबार सहकारीको सभाहलमा आयोजित कार्यक्रममा सहकारीमा स्थापना गरिएको तेजकुमारी गैरे (रुविना) स्मृति कोषबाट म्याग्दी बहुमुखि क्याम्पस बेनीमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थी सुन्दर खत्रीलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

जसअन्तर्गत १ हजार ३ सय रुपैयाँको शैक्षिक सामग्री र ४ हजार २ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष विष्णु गौतम सापकोटाले जानकारी दिनुभयो ।उक्त शैक्षिक सामग्री र चेक स्व. रुविनाको दाजु जगत गैरेले विद्यार्थी केसीलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग प्रदान गर्दै गैरेले कलिलै उमेर संसार त्यागेर गएकी बहिनीको सम्झनामा स्थापना गरिएको कोषबाट उक्त सहयोग प्रदान गरिएको बताउनुभयो ।

सहयोग ग्रहण गर्दै खत्रीले प्राप्त सहयोगले उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने भन्दै सहकारी तथा स्व.रुविनाको परिवारलाई आभार प्रकट गर्नुभएको थियो । कोषको व्याजबाट प्राप्त रकमले प्रत्येक बर्ष गरिव तथा विपन्न परिवारका सदस्यहरुलाई सहयोग गरिदै आएको छ । साथै सहकारीले नियमति रुपमा संचालन गर्दै आएको मुष्ठिदान वितरण कार्यक्रमबाट मालिका गाउँपालिका ७ विम बस्ने सुरेश थापालाई उपचारका लागि रु ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

थापाको मोटरसाईकल दुर्घटनामा परि मेरुदण्डमा चोट लागेको र फोक्सोमा समेत समस्या देखिएकाले उपचार भईरहेको छ । आर्थिक अवस्था कमजोर थापाको उपचारका लागि सहयोग उपलब्ध गराईएको सहकारीले जनाएको छ ।कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष सापकोटाले सहकारीका शेयर सदस्य स्व. रुविनाको स्मृति दिवसको अवसर समेत पारेर कोषबाट सहयोग प्रदान गरिएको बताउनुभयो ।

‘उहाँको शरिर हामी माझ नभएपनि सम्झनामा सधैभरि रहिरहनुहुन्छ, मृत्यु पश्चात पनि पूण्य कार्य गरि उहाँको आत्मालाई शान्ति दिलाउने गरि हामीले मानवीय सेवाको क्षेत्रमा सहयोग गर्दै आएका छौँ’, अध्यक्ष सापकोटाले भन्नुभयो ।कार्यक्रम सहकारीका अध्यक्ष विष्णु गौतम सापकोटाको अध्यक्षता, उपाध्यक्ष सुगम श्रेष्ठको स्वागत र सचिव जगत कुमारी खत्रीको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रमका सहभागीहरुले मैनबत्ती बालेर स्व. रविना गैरेको सम्झनामा मौनधारण समेत गरिएको थियो । सहकारीका शेयर सदस्य गैरेको २०७३ मंसिर १९ गते अल्पायुमै अकल्पनीय निधन भएको थियो ।

Leave a Reply