बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाइफकाइ करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन्। पक्राउ पर्ने तीनै जना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।

करणी आरोपित किशोरहरू र बालिकाहरूबिच पहिलेदेखि नै चिनजान रहेको प्रहरी श्रोतले बताएको छ। फेसबुकबाट चिनजान भएका उनीहरु साथीको जन्म दिन मनाउन भन्दै बागलुङ पुगेका थिए। पोखराका किशोरहरू र पर्वतका किशोरीहरू बागलुङमा भेटेर बागलुङ–२ समिट चोकस्थित एक होटेलमा बसेका थिए।

किशोरीहरू कसैलाई थाहा नदिई एक्कासि हराएपछि उनीहरुका अभिभावकहरूले भने खोजी गर्न सुरु गरेका थिए। खोज्ने क्रममा होटेलमा पुग्दा किशोर र किशोरीहरू होटेलमा सँगै बसेको र करणीसमेत गरेको खुलेपछि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका किशोरहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीकाे भनाई छ। बालिकाहरूलाई भने बागलुङस्थित सेफ हाउसमा राखिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए। अनुसन्धानमा करणी गरेको पुष्टि भए र किशोरीहरूका अभिभावकहरूले जाहेरी दिएपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Leave a Reply