जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेशका निर्देशक जगदिशचन्द्र जोशी सहितको टोलीले मंगलबार मालिका गाउँपालिका–६ को रातोढुङ्गा र ७ को डाडाखेतमा निर्माणाधिन सवस्टेशनको अनुगमन गर्नुभएको थियो ।

अनुगमनपछि उहाँहरुले सम्बद्ध आयोजनाका प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउन निर्देशन दिनुभएको हो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले डाडाखेत देखि राहुघाट जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको छ । प्राधिकरण मार्फतनै सञ्चालित चार वर्षअघिनै सकिनुपर्ने ३३÷११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशनको काम अझै पुरा भएको छैन् ।

रातोढुंगा सबस्टेशन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन बिस्तार र विद्युत आपुर्ति प्रभावित भएको मालिका गाउँपालिका–१ का वडा अध्यक्ष टंकप्रसाद पुनले बताउनुभयो ।  मिलनचोक देखि रातोढुङ्गा जोड्ने प्रशारण लाइनको पोल गाड्न र तार तान्ने क्रममा विवाद भएपछि काम प्रभावित भएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।

५०० पोल गाडेर तार तान्नुपर्नेमा सिमलचौर लगायतका ठाउँमा जग्गाधनीले बिरोध गरेपछि ५० वटा पोल गाड्न र तार तान्ने काम रोकिएको उहाँले बताउनुभयो । २०१६ मा एटुजेड इञ्जिनियरिङले कम्पनीले ठेक्का लिएको यो आयोजना ढिलाई हुनुमा निर्माण कम्पनीको पनि कमजोरी भएको आयोजना प्रमुख ढकालको भनाई छ ।

पोल पर्ने जग्गाका धनीको अबरोधले पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइन निर्माण प्रभावित भएको छ । रु. आठ करोडमा सन २०१६ मा ठेक्का सम्झौता भएको सबस्टेशन र प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुवाति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । सोही कम्पनीले ठेक्का लिएको दुखु, निस्कोट, अर्मनका विभिन्न ठाउँमा ११ केभी क्षमताको वितरण लाइनले पनि पूर्णता पाएको छैन् ।

निर्माण कम्पनीका प्रतिनिधि सागर लुइटेलले सवस्टेशन भित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । कन्ट्रोल रुमको भवन निर्माण अन्तिम चरणमा छ । बिवाद समाधान गरेर पोल गाड्ने र तार तान्ने वातावरण भएमा दुई महिनाभित्र सवस्टेशन चार्ज गर्ने लक्ष्य सहित काम थालेको लुइटेलले बताउनुभयो ।

वर्खामा केही ठाउँमा गाडेका पोल बगाएको छ । हालसम्म पोल गाड्ने, दुई वटा भवन बनिसकेको आयोजनाका लागि ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन् । पोल गाडिएको ठाउँमा तार समेत तानेका छन् । कर्मचारी आवास र प्रशासनिक भवन अधुरा छन्  ।

सवस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले स्थानीय स्तरमा देखिएका समस्या प्रशासन र पालिका, वडासँग समन्वय गरेर समाधान गरी काम गर्ने वातावरण बनाउने बताउदै घोषणा र प्रतिवद्धता अनुसार काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

गत जेठ महिनादेखि आयोजनाका अधिकारी, प्राविधिक, निर्माण ब्यवसायी र मजदुरहरु आयोजना स्थलमा थिएनन् । केही दिनअघि आएर काम गर्न थालेका छन् । रातोढुंगा सवस्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालीका र मंगला गाउँपालीकामा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवा विस्तारमा सहज हुने नेपाल बिद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।

“हाल मिलनचोक सब स्टेशनबाट चार वटा फिडरबाट लामो दुरिमा विद्युत आपुर्ति गराउदाँ समस्या भएको छ,” उहाँले भन्नुभयो “२० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड भएपनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन समस्या भएको छ ।”

म्याग्दी र राहुघाट नदीमा निर्माणाधिन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन डाडाखेतमा सवस्टेशन र प्रशारण लाइन निर्माण शुरु भएको हो । डाडाखेतमा ठाउँमा जग्गा व्यवस्थापनको काम सकेर सवस्टेशनका उपकरण राख्ने ठाउँ बनाउन शुरु भएको र प्रशारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो ।

सन २०२१ को डिसेम्वर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधी ३० महिनाको छ ।

ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर स्वीचार्ड र कन्ट्रोल भवन निर्माण थालेको छ ।   डाडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गर्न मिल्ने संरचना निर्माण भइरहेको छ । प्राधिकरणका निर्देशक जोशीले निर्माण कम्पनीलाई मजदुर, उपकरण थपेर निर्माणको कामलाई तिब्रता दिन निर्देशन दिनुभयो ।
एशियाली बिकास बैंकको ऋणमा प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् । १२ वटा जलविद्युत आयोजना निर्माणको क्रममा छन् ।

Leave a Reply