म्याग्दीमा यसवर्ष धान उत्पादन घट्यो

म्याग्दीमा यसवर्ष धान उत्पादन घटेको छ । गएकाे वर्षको तुलनामा यसवर्ष धान उत्पादन घटेको हो । समयमा रोपाइँ नहुनु, सिँचाइको अभाव, मनसुनी वर्षा नपर्नु, बिउमल नपाउनु जस्ता कारणले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

यसवर्ष वातावरणमा आएको परिवर्तन, धान खेत वरिपरि उम्रिएका रुख, झाडी र बुट्यानको तप्केनी, घाम नपर्नु, ढिलो रोपाइँ हुनु, धानको फूल खेल्ने समयमा अत्यधिक पानी पर्नु, हावाहुरी चल्नु जस्ता कारणले गर्दा स्थानीय जातको धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीका कार्यालय प्रमुख किरण सिग्देलले बताउनुभयो । अन्य धानको तुलनामा स्थानीय जातको धान उत्पादन घटेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा खेतीयाेग्य जमिनमध्ये यसवर्ष कुल ३ हजार ८ सय ९० हेक्टर क्षेत्रफलको जमिनमा धान खेती लगाइएको थियो । प्रति हेक्टर ३ दशमलव १ मेट्रिक टन धान उत्पादन भएको छ भने जिल्लाभर कुल १२ हजार ५९ मेट्रिक टन मात्रै धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सम्झना शर्माले बताउनुभयो । उहाँले गएकाे वर्ष प्रति हेक्टर ३ दशमलव ४७ मेट्रिक टन अर्थात् १३ हजार ४ सय ८० मेट्रिक धान उत्पादन भएको जानकारी दिनुभयो । गएकाे वर्षको तुलनामा यसवर्ष म्याग्दीमा १४ सय २१ मेट्रिक टन धानको उत्पादन घटेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

म्याग्दी जिल्लामा प्रायजसाे किसानहरुले स्थानीय जातको लोकल धान लगाउने गरेका छन् । म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिएको छ । विकासे धानतर्फ भने किसानहरुले त्यति चासो देखाएका छैनन् । नदी किनारका फाँटहरुमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिएको छ । पछिल्लो समय जिल्लाको केही ठाउँमा सुक्खा धान १, २, ३ नामको जात समेत लगाइन्छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसाे क्षेत्रमा धान खेती हुने गरेको छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ । यी क्षेत्रहरु धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन ।

म्याग्दी जिल्लामा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । ११ हजार ३ सय ९८ हेक्टरको जमिन बाँझो रहनुका साथै जग्गा प्लटिङमा परिणत भएको छ ।

खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने ४ हजार ३ सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

Previous articleबीसौं जेसीज कप-उपाधी शारदा माविलाई
Next articleम्याग्दीका जङ्गलमा वन्यजन्तुको चोरी सिकार बढ्दो
प्रताप बानियां
प्रताप बानियां बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।