अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीका जङ्गलमा वन्यजन्तुको चोरी सिकार बढ्दो

On: December 14, 2022 4:17 PM
Follow Us:

म्याग्दीका लेकाली जङ्गलबाट वन्यजन्तुको चोरी सिकारी बढेको छ । जिल्लाको गौश्वारा, सानालेख, गुर्जा, लुलाङ, मुदी क्षेत्र नजिकैका जङ्गलमा वन्यजन्तुको चोरी सिकारी बढेको हो । उच्च लेकाली भेगमा दिनहुँ चोरी सिकार भइरहेको स्थानीयवासी नारायण सापकोटा बताउँछन् ।

वन्यजन्तुको सिकार गर्न बन्दुक, भाला र खुकुरी लिएर दिनहुँ सिकारी जङ्गल जाने गरेको उनी जानकारी दिन्छन् । जिल्लाका लेकाली भेगमा जङ्गल बाक्लिएसँगै वन्यजन्तु बस्ती तथा झाडीतिर आउने भएकाले सिकारीले कालिज, बँदेल, मृग, घोरल, जरायो, रतुवालगायत वन्यजन्तुको सिकार गरी सुकुटी बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेका छन् । सिकार खेल्न स्थानीयवासी आफ्नो छुट्टै समूह बनाइ एक÷दुई हप्तासम्म जङ्गलमै बस्ने गरेको लुलाङका जसवीर विक बताउँछन् ।

हिउँदको समयमा वन्यजन्तुको शिकार गर्न सजिलो हुने भएकाले उनीहरू मौका छोपी जङ्गल जान थालेको स्थानीयवासीको भनाइ छ । यस्तै कतिपय सिकारीले कुकुरसमेत प्रयोग गरेर मृगको सिकार गर्दै  आएका पाइएको छ । सिकारीले मारेका वन्यजन्तुको मासु तथा सुकुटी सदरमुकाम बेनीलगायत काठमाडौं र पोखरामा बिक्री वितरण हुने गरेको स्थानीयवासीको आरोप छ।

खुलेआम वन्यजन्तुको चोरी सिकारी हुँदासमेत सम्बन्धित निकायले त्यसको रोकथाम गर्न नसकेको उनीहरूको गुनासो छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको सिकार गर्नेलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिमाना हुनसक्ने कानुनी प्रावधान छ । रासस