बेनी नगरपालिका–७स्थित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले धवलागिरी माविको सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । सहकारीको २२ औँ स्थपना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका –४ सिंगामा रहेको उक्त स्रोत कक्षालाई नगद रु २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

बुधबार सहकारीको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रमेश गिरी र सचिव माधव प्रसाद रेग्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्का र प्रधानाध्यापक भुवन प्रसाद रेग्मीलाई सो रकम प्रदान गरे । स्रोत कक्षामा हाल ११ जना सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरु अध्ययनरत रहेको र उनिहरुको भरणपोषण र शिक्षादिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाका सचिव रेग्मीले बताए । सहकारीको सामाजिक उत्तरदायित्व बहन गरिएको भन्दै अध्यक्ष गिरीले समुदायमा सहकारीको अपरिहार्यता रहकोले समाज प्रति अझै जिम्मेवार पूर्ण उपस्थिति रहने अध्यक्ष गिरीले बताए ।

बेनी बचतले स्थापना कालदेखि नै समाजसंग जोडिएर काम गरेको उहाँको भनाई थियो । हिजोका दिनहरुमा पनि स्थापना दिवस मनाउदा गलेश्वरका वृद्धाआश्रममा सहयोग, नेपाल बाल संगठनका बालबालिकाहरुलाई सहयोग, मौवाफाँटको दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग, बगुवाखोलाको वौद्धिक अपांग विद्याथीहरुलाई समेत सहयोग गरेको थियो । संस्थापक उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले सहकारीले स्थापनाको उद्देश्य अनुरुप काम गर्दै आएको, बचत कर्ता र सहकारीको सदस्य सेवाग्राहीहरुलाई उत्कृष्ट कारोबार गरेर विश्वास दिलाउन समेत सफल भएको बताए । विश्वनै आर्थिक मन्दीमा परेको समयमा पनि सहकारीले सहज तरिकाले वित्तिय सेवा उपलब्ध गराएकाले पनि सेवाग्राहीको विश्वास बढेको श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा संचालक समितिका उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरु, सल्लाहकार समिति सदस्यहरु, संस्थाका प्रवन्धक सज्जन शाक्य तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष गिरीको अध्यक्षता र सविच रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply