सम्झौता अगाडि सम्पन्न भयो सीम-सातबिसे झोलुङ्गे पुल

निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेर योजना अलपत्र परेका खबर सार्वजनिक भइरहेका छन्। तर, यहाँको एक झोलुङ्गे पुलको योजना भने सम्झौता मिति अगावै निर्माण व्यवासयीले सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेका छन्।

जिल्लाको मंगला गाउँपालिका २ सीमदेखि ३ नम्बर वडाको सातबिसे गाउँलाई जोड्ने गरी म्याग्दी खोलामा निर्माण गरिएको एन टाइपको झोलुङ्गे पुल सम्झौता मिति भन्दा दुई महिना अगावै सम्पन्न भएको हो। पुल निर्माण सम्पन्न भएसँगै डेढ घण्टाको पैदल यात्रा पाँच मिनेटमा छोटिएपछि स्थानीय खुशी भएका छन्।

पूर्वाधार विकास कार्यालय म्याग्दीले पुल निर्माण गर्न २०७८ फागुन २ गते जुम्ली निर्माण सेवासँग पुलको पार्टसबाहेक ३७ लाख ३४ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो।

पुल निर्माण गर्नुपर्ने सम्झौता मिति मङ्सिर मसान्तसम्म थियो पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले भन्नुभयो, ‘म्याग्दी खोलामाथि एक सय १० मिटर लामो एन टाइपको झोलुङ्गे पुल सम्झौता मिति भन्दा दुई महिना अगावै निर्माण सम्पन्न भएको छ।’ उहाँका अनुसार उक्त पुलको डिजाइन म्याग्दीमा पहिलो हो।

पुल बनेसँगै सीम र सातबिसेका स्थानीयलाई आवतजावत गर्न निकै सहज भएको स्थानीयवासी तथा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्रुव केसीले बताउनुभयो। मंगला गाउँपालिकाको ३ नम्बर वडा वरङ्जाको सातबिसे, बान्द्रे, ज्यामिरे, झार्कीपानी र २ नम्बर वडाका सिम, कोत्रावाङ, सिमलचौर र खुम्लियाका स्थानीय लाभान्वित भएका छन्।

म्याग्दी खोलाको वारीपारीका वस्तीलाई खेतीपाती गर्न पुल नहुँदा डेढ घण्टासम्म पैदल हिँडेर जानुपर्ने बाध्यता थियो केसीले भन्नुभयो, ‘पुल बनेसँगै डेढ घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ।’

अहिले दैनिक एक सयको हाराहारीमा सर्वसाधारण पुलबाट आवतजावत गर्ने उहाँको भनाइ छ। पुलका लागि आवश्यक पर्ने करिब दुई रोपनी जमिन समेत केसीले उपलब्ध गराउनुभएको थियो। source: gorkhapatraonline

Previous articleविश्वकपः फ्रान्स फाइनलमा प्रवेश
Next articleविश्वकप फुटबल: फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्ने, कस्ले जित्ला उपाधि?