लाहुरेहरुको जिल्लाका रुपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । बाह्रै महिना खेती गरी जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयहरु कृषि गर्न छाडेर सहर पस्न थालेका छन् ।
जिल्लाबाट अधिकांश युुवाहरु श्रमका लागि विदेशिएपछि गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बाँकी छन् । जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा धेरैजसो खेतीयोग्य जमिन बाँझै देख्न सकिन्छ ।
सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका– २ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझो रहेको स्थानीय चित्रबहादुर रिजालको भनाइ छ । “खेती गर्नका लागि जनशक्ति नै छैनन्, बुढाबुढीले गर्न नसक्ने भएपनि जग्गाजमिन बाँझै छाड्नु बाध्यता बनेको छ ।”
मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले हरेक वर्ष खेतीयोग्य जमिन १५ प्रतिशतले घटदै गएको बताए। तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरमा पनि जमिन बाँझो हुने क्रम बढेको छ । सिङ्गा, बगरफाँट, डाँडाखेतका खेतीयोग्य जमिनमा ‘प्लटिङ’ बढेपछि धान उत्पादन घट्दै गएको उहाँको भनाइ छ ।
कृषि कार्यालय र स्थानीय तहले कृषिउपजको उत्पादन बढाउन प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीमा अनुदान दिन थालेका छन् तर यति हुँदा पनि किसानलाई त्यसतर्फ आकर्षित गर्न सकिएको छैन ।
भूकम्पपछि गाउँबाट सहर झर्ने क्रम बढेसँगै खेतीयोग्य जमिनमा पल्टिङ बढेको हो । जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक पचासभन्दा बढी जग्गाको कारोबार हुन थालेको मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीको भनाइ छ । रासस