पश्चिम म्याग्दीलाई सदरमुकाम बेनी लगायत देशका विभिन्न शहरसँग जोड्ने सडकको कालोपत्रे गर्ने योजनाका साथ स्तरोन्नतिको भइरहेको छ। दरवाङदेखि धारापानी सम्मको सात किलोमिटर  सडक स्तरोन्नतिको योजना सञ्चालनमा छ। मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा सात किलोमिटर सडक स्तरोन्नति गर्दै कालोपत्रे गर्ने उद्देश्य छ। दरबाङ देखि धारापानीसम्म सडक स्तरोन्नतिको कार्यले गति लिएको हो।

साढे दुई वर्षअघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपैयाँमा बहुवर्षीय ठेक्का लगाएर सडक स्तरोन्नति थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीका अनुसार योजनामा अहिलेसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको छ।

यसअघि निर्माण गरिएको साँघुरो सडकलाई फराकिलो बनाउने र घुम्ती मिलाएर सडक ग्राभेल गर्ने योजना रहेको उनले बताए। यो सडक बेनी –दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत पर्छ। धवलागिरि गाउँपालिका ७ स्थित बादिकाका भिरमा साँघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो।

सडक चौढा पार्ने,बादिकाको उकालोमा भीर काटेर सडक फराकिलो बनाउने, साघुँरा घुम्तीलाई चौढा पार्ने,नाली,मेसनरी वाल र ग्राभेल गर्नेगरी २०७६ चैत ४ गते पूर्वाधार विकास कार्यालयले धुलिखेल ब्राइट कुवर जेभीसँग ठेक्का सम्झौता गरेको थियो। बादिकाको भीर भनेपछि आङ नै सिरिङ्ङ हुने जोखिमयुक्त सडक हो। नाली सहित सात मिटर सडक फराकिलो बनाउने योजना रहेको कार्यालयले जनाएको छ।

निर्माण कम्पनीले दरवाङ देखि दाङखोलासम्म सडक चौडा पारेर नाली र ग्यावियन झाली भर्ने काम गरेको छ। बादिकाको भीर काटेर सडक चौडा बनाइएको छ। गत वर्ष भीरको केही स्थानमा पहरा काट्न बाँकी रहेको स्थानमा यो वर्ष कटान गरिने कार्यालयले जनाएको छ।

भीरमा साँघुरो सडक र घुम्तीका कारण सडक निकै जोखिमयुक्त थियो। दरबाङ देखि धारापानी सम्म ७ किलोमिटर सडक स्तरोन्नति गरी ग्राभेल गर्ने योजनाका साथ काम भइरहेको र आगमी चैत महिनासम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताए।

अप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको उहाँले बताउनुभयो। अव धेरै ठाउँमा भीर काट्ने काम सकिएको छ कार्यालय प्रमुख अधिकारीले भने ‘भीरको पुछारतिर केही भाग कटान गर्न बाँकी छ। ठेकेदार कम्पनीको परिचालन अहिलेसम्म सन्तोषजनक छ। सम्झौता समयभित्र काम सम्पन्न गर्न भनेका छौँ।’

अहिलेसम्म आठ करोड ९१ लाख रुपैयाँ खर्च भइसकेको र चालु आर्थिक वर्षलाई ४ करोड रुपैयाँ गण्डकी प्रदेश सरकारले विनियोजन गरेको उनले बताए। काम सम्पन्न भएपछि बाँकी रकम पनि प्राप्त हुने कार्यालय प्रमुख अधिकारीले बताए। बादिकाको अप्ठ्यारो भीरको करिब ३०० मिटर सडक ढलान गर्ने योजनामा उल्लेख छ।

बेनी दरबाङ मुना लुलाङ गुर्जा ढोरपाटन सडक अन्तर्गत पर्ने यो खण्डको सडक स्तरोन्नति सम्पन्न भएपछि कालोपत्रेको योजना अघि सार्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ। यसैगरी धारापानी देखि मुनासम्म १३ किलोमिटर सडक स्तरोन्नतिका लागि डीपीआर तयार पारेर प्रदेश सँग योजना माग गरिएको उनले बताए। दाङखोलामा पक्की पुलको काम पनि यही वर्ष सुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

Leave a Reply