????????????????????????????????????

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणाधीन ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ योजना अलपत्र परेको छ। निर्माण व्यवसायीले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणाधीन ५ शय्या क्षमताको अस्पताल भवन अलपत्र परेको हो।

गत वर्षको हिउँददेखि नै काम छाडेका निर्माण व्यवसायी अहिलेसम्म पनि काममा नफर्किएपछि गाउँपालिकामार्फत ताकेता गरिएको ताकमका वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए। पालिकाकै गौरवको आयोजनालाई निर्माण व्यवसायीले अधुरो र अलपत्र छाडेपछि पटक–पटक फोन र पत्रमार्फत ताकेता गरिएको वडाध्यक्ष खत्रीले बताए।

भवन निर्माणको लागि बिएम आइएस एसी जेभी बुर्तिबाङ बाग्लुङले रु चार करोड ८८ लाख ७२ हजार १३२ मा ठेक्का सम्झौता गरेको थियो।

निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको जम्मा २० प्रतिशत भौतिक प्रगति भएको छ। ठेकेदार कम्पनीले अहिलेसम्म जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याई भुइँ ढलानको डिपिसीको काम मात्रै सकेको छ।

भवन निर्माण गर्ने समय गुजारेको उक्त कम्पनीलाई १२ औँ संशोधन नियमावलीअनुसार एक वर्षका लागि म्याद थप भए पनि अहिलेसम्म कम्पनी कार्यक्षेत्रमा नफर्किएको गाउँपालिकाका सबइन्जिनियर लोकेन्द्र रावलले जानकारी दिए।

कम्पनीले गाउँपालिकाबाट ९२ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी लगिसकेको छ। ताकममा निर्माण हुने उक्त दुईतले अस्पताल भवनमा आकस्मिक, अन्तरङ, बहिरङ, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतका संरचना रहने प्रस्ताव गरिएको छ।

Leave a Reply