म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना भएको छ । बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो¬) गाउँमै उत्पादन गर्ने उद्देश्य अनुरुप तालिमको आयोजना गरिएको हो ।
सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम संचालन गरेको हो ।

पुस १ गतेदेखि तालिम संचालन भईरहेको छ । ७ दिनसम्म चल्ने तालिममा ३५ जनाको सहभागिता रहेको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले जानकारी दिनुभयो । २५ जनाको कोटा भए पनि सहभागी धेरै आएकाले लक्ष्यभन्दा बढिलाई सहभागि गराइएको उहाँले बताउनुभयो ।

सामाजिक विकास कार्यालयको सक्षम महिला, समानान्तर पाइला कार्यक्रममार्फत रु दुई लाख बजेटबाट सो तालिम सञ्चालन गरिएको हो । गहुँ, मकै र भटमासको पिठोलाई मिश्रण गरेर घरमै सर्वोत्तम पिठो बनाउने ज्ञान सीप प्रदान गर्न तालिमले सघाउ पु¥याउने छ ।

तालिमको सुआहारा कार्यक्रमका पोषणविज्ञ राजेन्द्र अधिकारी र बालकुमारी पुनले सहजीकरण गर्नुभएको छ । तालिम अनुगमनका क्रममा आइतबार घारमा पुग्नुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुन र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पिठो उत्पादनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
जंकफुडको आयात घटाउने, व्यावसायिकरुपमा उद्यम सञ्चालन गरेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने, आर्थिकरुपमा सक्षम र उद्यमशीलताको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरेको मिलनका कार्यकारी निर्देशक बिटालुले बताउनुभयो ।

सर्वोत्तम पिठो छ महिना उमेर पुगेका बच्चाको लागि उपयुक्त पौष्टिक आहार मानिन्छ । स्थानीयस्तरमा ज्ञान सीप नहुँदा बच्चाका लागि आवश्यक सर्वोत्तम पिठो बजारबाट खरिद हुँदै आएको छ । सीप सिकेपछि घरमै उपलब्ध कृषिउपजको प्रयोग गरेर सर्वोत्तम पिठो बनाउन सकिने र यसबाट आयआर्जन समेत गर्न सकिने तालिममा सहभागि महिलाहरुले बताएका छन ।

Leave a Reply