विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।  मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रमा प्रशस्तै पाइने शालिग्राम पाइने विश्वकै एउटा मात्र कालीगण्डकी नदीमा सरकारी निकायका प्रतिनिधि सहितको खोजी र उत्खनन्का लागि खटिएका छन्।

मन्त्रालयबाट आएका प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ। आइतबार बसेको नेपाल सरकारको मन्त्रिपरिषदको बैंठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत गरिएको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका थिए।

तीनदशक अगाडीसम्म कालिगण्डकी नदीमा अत्याधिक पाइने शिला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खनन् लगायत विभिन्न किसिमका मानवीय र प्राकृतिक कारणले शालिग्राम लोप हुँदै गएको छ। बेनी नगरपालिकाका मेयर सुरत केसीले शालिग्राम शिलाको खोजीमा आएको टोली सम्भावित क्षेत्रमा पुगेको बताए।‘एउटा पहिचान भइसकेको छ, अर्को खोज्ने कार्य अहिलेलाई रोकिएको छ’, मेयर केसीले भने।

उत्खनन् गर्दा नदीबाट हुनसक्ने क्षतीका बारेमा समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाई छ। बेनी नगरपालिकालाई गण्डकी प्रदेशबाट समेत पत्र प्राप्त भएपछि जनप्रतिनिधि सहितको टोलीले समेत सघाइरहेको छ। बेनीको देभानदेखि गलेश्वर आसपासका क्षेत्रबाट लैजाने बताइएको छ।

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन्। कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमुल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरुको भनाई छ।शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन् तीब्र छ।

Leave a Reply