बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध  सम्बन्धी मुद्दामा कसुर ठहर भएको छ। निसीखोला—६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० किलो गाँजा जस्तो देखिने धुलो सहित पक्राउ परेका घर्ती दाेषी ठहरिएका हुन्।

जिल्ला अदालत बागलुङका न्यायाधिस डा. दिवाकर भट्टको इजलासले आइतबार कसुर ठहर गरेको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए। ‘उहाँको मुद्दामा कसुर ठहर भएको छ, कसुर ठहर हुनु भनेको दोषी देखिनु हो,’ उनले भने, ‘सजाय निर्धारण चाहिँ भैसकेको छैन। १९ गतको लागि सजाय निर्धारणको फैसला गर्ने पेशी तोकिएको छ।’

सजाय निर्धारण भएपछि घर्तीले पुनरावेदन गर्ने समय भने पाउने उनको भनाइ छ। ‘जिल्ला अदालतबाट उहाँ दोषी ठहरिनुभएको छ, अब सजाय तोकिन्छ, ’उनी भन्छन्, ‘उहाँले माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार उहाँलाई छ, त्यो समय पाउनुहुन्छ।’

घर्ती दोषी ठहर भएपछि उनको गाउँपालिका अध्यक्ष पद पनि जोखिममा परेको छ। गत स्थानीय निर्वाचन २०७९ मा पाँच दलीय गठबन्धनको उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। कसुरदार देखिएमा स्वतः पदमुक्त हुने भए पनि अहिले नै यसै हुन्छ भनेर भन्न नसकिने जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताए।

‘कसुरदार देखिएमा पद जाने भन्ने कुरा त हो, त्यो कानुनी प्रावधानहरुको बारेमा पनि हेरौंला,’ उनले भने,‘सजाय निर्धारण नभईसकेकोले यसै भन्न सकिने अवस्था त भएन। यसबारेमा मैले श्रीमानसँग पनि बुझौंला।’ बुर्तिबाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरेपछि प्रहरी घर्तीको घरसम्म पुगेको थियो। घर्तीको घरमै ठूलो परिणाममा गाँजाका धूलो भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेर २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा÷चरेस–नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाएको थियो। १९ गतेको पेसीमा सजाय निर्धारण भएपछि घर्तीले फैसला चित्त नबुझे पुनरावेदन गर्न सक्नेछन्।

१० वर्ष भन्दा कम सजाय तोकिएको खण्डमा धरौटी राखेर घरमै बसी पुनरावेदनको मुद्दा लड्ने कानुनी व्यवस्था भएको अधिवक्ता राम शर्मा बताउँछन्। ‘प्रिन्सीपल्ली त कसुर ठहरिएपछि पदमुक्त हुनुपर्ने हो, न्यायिक हिसाबले चाहिँ जिल्लाको फैसला चित्त नबुझे उच्च र सर्वोच्च जाने व्यवस्था छ र लागूऔषधको मुद्दामा १० वर्ष भन्दा कम कैद सजाय भए दैनिक तीन सय रुपैयाँ बराबर धरौटी राखेर घरमै बसीबसी पुनरावेदन गर्न पाउने व्यवस्था छ।’ गत निर्वाचनमा घर्तीले एमालेका भूमिराज घर्तीलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

Leave a Reply