निर्माणाधिन ‘बेनी मिनि रंगशाला’मा प्याराफिट विस्तारको काम शुरु भएको छ । बेनी नगरपालिकाले प्याराफिट निर्माणका लागि सञ्चालन गरेको योजनाको मंगलबार बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । नगरपालिकाले प्याराफिट विस्तारका लागि चालु आर्थिक वर्षमा रु. ५० लाख बिनियोजन गरेको थियो ।

प्याराफिट निर्माणका लागि उत्तरगंगा निर्माण सेवाले यही मंसिर पहिलो साता रु. ३५ लाख ९३ हजार १०१ मा ठेक्का सम्झौता गरेको थियो । ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको बेनी नगरपालिकाका प्राबिधिक गोपाल मगरले बताउनुभयो ।

यसअघि म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनिसकेको छ । आगामी चैत महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आगामी पुष २८ गते म्याग्दी महोत्सव शुरु हुनुअघिनै प्याराफिट निर्माण सक्ने गरि ठेकेदार परिचालन भएका बताउनुभयो । उहाँले गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बिनियोजन भएको रु. ८ लाख बजेटबाट कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्ने काम भैरहेको बताउनुभयो ।

अधुरो पर्खाल र प्याराफिट निर्माणका लागि हिउँद अधिवेशनबाट थप बजेट व्यवस्थापन गर्ने नगरप्रमुख केसीले बताउनुभयो । बेनीको खुल्ला मञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई वटा आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु. नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो ।

जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ । त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ÷नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११÷११ जनाको टिम खेलाउन सकिने वडा सदस्य सोहन श्रेष्ठले बताउनुभयो । प्याराफिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ ।

हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु. एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । युवा तथा खेलकूद मन्त्रालयले विसं २०७१ मा रु. छ लाख ५० हजार र २०७३ मा रु. ५९ लाख ६७ हजार विनियोजन गरेको थियो ।

विसं २०७४ मा रु. एक करोड र २०७५÷७६ मा रु. ६० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा बेनी नगरपालिकाले रु. नौ लाख, अर्थ मन्त्रालयले रु. ५० लाख, खेलकूद मन्त्रालयले रु. ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट रु. ५० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७÷७८ र ७८÷७९ मा कुनै पनि निकायबाट बजेट बिनियोजन नहुदा खेलमैदान निर्माण रोकिएको थियो ।

Leave a Reply