आफ्ने तथा परिवारको सुरक्षित र समृद्ध भविष्यको लागि वैदेशिक रोजगारीमा विभिन्न देशमा गएका म्याग्देलीहरु समस्यामा छन् ।उनीहरुले सुरक्षाको प्रत्याभुति गर्न सकिरहेका छैनन् । बैदेशिक रोजगारमा जाने बढ्दो क्रममा कतिपयः गाउँबस्तीहरु युवाविहीन भएका छन् ।

कर्मठ र उर्जाशील पाखुरीको अभाव गाउँघरमा देखिएको छ भने परिवारको सुखीका लागि गएक आफ्नै अभिभावक रोजगारीका लागि विदेशमा पुगेर पनि अलपत्र परेको घटनाले विद्यार्थी मानसिक तनावमा समेत हुन्छन् । सीप र सूचना नलिई वैदेशिक रोजगारीमा गएका कारण धेरै म्याग्देली अलपत्र परेको तितो यथार्थ हाम्रो सामु जगजाहेर छ ।

धन कमाउन विदेशमा पुगेका अभिभावकले झेल्दै आएको समस्या समाधान हुने गरी म्याग्दी सामुदायिक पुस्तकालयले सुरू गरेको वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउने अभियान अत्यन्त सन्देशमुलक र प्रभावकारी छ ।

म्याग्दी पुस्तकालयले आफ्ना अभिभावकको बैदेशिक यात्रा कसरी सुरक्षित बनाउने ? भन्दै वैदेशिक रोजगारीलाई व्यवस्थित, भरपर्दो, सुरक्षित बनाउन वैदेशिक रोजगारीलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विद्यार्थीसँग गरिएको कार्यक्रममा आफ्नो अभिभावकको बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन विद्यार्थीले चासो देखाएका छन् ।

रिड नेपालको आर्थिक सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले सञ्चालन गरिरहेको सुरक्षित स्थान्तरण दियो परियोजना अन्तरगत सुरक्षित आप्रवासन सम्बन्धि सचेतना कार्यक्रममा हतारमा विदेश जाने योजना बनाउँदा दलालको फन्दामा परेर ठगिने सम्भावनाका बारेमा विद्यार्थीको चासोले कार्यक्रमलाई विद्यालयले समेत समय ब्यवस्थापन गरेर नयाँ सन्देश प्रवाह गरेको छ ।

पुस्तकालयमार्फत सुरु भएको यो अभियानमा आफ्ना अभिभाबकले भोगेको समस्याका बारेमा समेत खुलेर बहस गरेको देखिन्छ । दक्ष, सीपयुक्त र उत्पादनमूलक क्षेत्रका बारेमा विद्यार्थीमा देखिएको चासोले पनि अव बैदेशिक रोजगारीमा जाने अभिभावकलाई दक्ष र सिपमुलक बनाउन सघाउने छ ।

पुस्तकालयमार्फत करिब २ सय विद्यार्थीलाई वैदेशिक रोजगारमा जाँदा कसरी सुरक्षित हुने ?, बैदेशिक रोजगारको सिलसिलामा कुनै बाधा अड्चन आयो भने क्षतिपुर्ति सहित कसरी सुरक्षित फिर्ता हुन सकिन्छ ? कानुन बिपरीत दलालको फन्दाबाट कसरी जोगिने ? लगायत विविध विषयमा जानकारी समेत गराइएको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा श्रीमानहरू विदेशी भूमिमा कठिन परिश्रम गरी नेपालमा पैसा पठाइरहेको अवस्थामा दुरुपयोग गर्ने र बैदेशिक रोजगारीकै कारण घट्ने डरलाग्दो सामाजिक तथा अपराधिक घटनाहरूहरु न्यूनिकरणमा समेत विद्यार्थीमार्फत समुदायमा समेत पहल हुने देखिन्छ।

परियोजना अन्तरगत हालसम्म बैदेशिक रोजागरीमा जाने तयारीमा रहेका, फर्किएर गाउँमै सिप मुलक कार्यहरु गरेका, समुदायमा फरक पेशामा आवद्ध भएका लगायत परियोजनाले लक्षित गरेको क्षेत्रमा कार्यक्रम गरिएको छ । बैदेशिक रोगजारीमा गएकाहरुले अनेक समस्याहरुसँग जुझ्दै नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका छन् । तिनै आप्रवासी नेपाली कामदारहरुले पठाएको पैसाले के गाउँ, के सहर राष्ट्र कै अर्थतन्त्र चलायमान भएको छ ।

वैदेशिक रोजगारीले ल्याएको समस्या उनीहरुको मात्र नभईसमाज कै समस्या हो। सुरक्षित बैदेशिक रोजगारीका लागि सर्वसाधारण सबैको चेतना अभिवुद्धि गर्न आवश्यक छ । विदेशमा न्युनतम मापदण्दसहितको श्रम सम्झौताको व्यवस्था, महिलाको प्रजनन् स्वास्थ्यमाथिको अधिकार, कामबाट जबरजस्ती निश्काशन बन्द गरिनु पर्ने, आप्रवासी कामदारको सुरक्षित जीवनको अधिकार, सुरक्षित र सुलभ बैदेशिक रोजगार मुख्य मागहरु देखिन्छ ।

अर्कोतर्फ युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर छैनन् भन्ने मनोभावनाबाट मुक्त गर्नु आजको प्रमुख चुनौति हो । म्याग्दीमा बैदेशिक रोजगारीमा जानेहरुबाट बार्षिक ४ अर्वभन्दा बढी रेमिट्यान्स भित्रिने गरेपनि बैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाउने र बैदेशिक रोजगारीले घरबार समेत टुट्ने घटना सार्वजनिक हुने अवस्थाहरुलाई यस्तै कार्यक्रमले पक्कै न्यूनिकरणमा सघाउँछ ।

बैदेशिक रोजगारको लागि विदेश जानु अघि, विदेशमा रहँदाको समय र स्वदेश फर्किए पछिका सबै चरणहरुमा देखिएका समस्यहरुलाई सम्बोधन गर्दै बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला सबैको ऐक्यवद्धता जरुरी छ । म्याग्दी पुस्तकालयबाट सुरु भएको यो अभियानलाई अब जिल्लाका सबै पालिकाहरुले समेत आफ्नो प्राथमिकतामा राखेर काम पर्नुपर्ने देखिन्छ ।

Leave a Reply