म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएकी शिला थापाले जन्मगाउँको पूर्वाधार विकास र सामाजिक क्षेत्रमा रु ११ लाख बढी सहयोग गर्नुभएको छ । आफ्नै व्यक्तिगत लगानीमा निर्माण भएको धुले मेला लगाउने उलेना खेलमैदानको स्टेज भवनको उद्घाटन गर्न आउनुभएकी थापाले गाउँको सामाजिक क्षेत्रमा रु ११ लाख २५ हजार ६३० बराबरको सहयोग गर्नुभएको हो ।

भवनको उद्घाटनको अवसरमा सहयोगदाता थापाले सोही खेलमैदान परिसरमा शौचालय निर्माणको लागि समेत रु २ लाख ५० हजार सहयोग हस्तान्तरण गर्नुभएको छ । धुले मेला संरक्षण समितिका अध्यक्ष रनबहादुर रोकालाई थापाले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।


सहयोगदाता थापाले स्थानीय खानीगाउँमा रहेको मण्डली आधारभुत विद्यालयलाई रु १ लाख ५ हजार बराबरको एक थान ल्यापटप र नगद रु १६ हजार सहयोग प्रदान गर्नुभएको छ । त्यसैगरि अरनीको आधारभूत, जनप्रिय आधारभूत बुकेनी, शिवालय आधारभूत, जनता आधारभूत, दुर्गा आधारभूत र पखेर आधारभूत विद्यालयलाई नगद रु ५० हजार १०५ का दरले सहयोग हस्तान्तरण गर्नुभएको छ ।


उक्त अवसरमा थापाले बरंजामा रहेका ९ वटा आमा समूहलाई नगद रु ९० हजार, जनप्रिय आधारभुत विद्यालयलाई रु १० हजार,न्यू स्टार युवा क्लबलाई रु १० हजार, गिरी स्मृति युवा क्लबलाई रु १० हजार, तीन वटा नौमती बाजा समूहलाई रु ३५ हजार, आलडाँडा सामुदायिक वनलाई रु १० हजार, वाखु–आल्डा बिजुली समितिलाई रु १० हजार, खर्कको भजन मण्डलीलाई रु १० हजार, खुर्रखुरे सेवा समाजलाई रु १० हजार नगद सहयोग गर्नुभएको थियो ।


समाजसेवी आमा समूहलाई रु २५ हजार बराबरको भाँडा सहयोग गर्नुभएकी समाजसेवी थापाले स्थानीय हिमाली आमा समूहका ३० जना, चीनाकोट आमा समूहका १०० जना र समाजसेवी आमा समूहका ७६ जना गरि २०५ जनालाई पोशाक समेत वितरण गर्नुभएको छ । कार्यक्रममा सहयोगदाता थापा र उहाँकी आमा मंगली पुन र छोरीहरु प्रमिना र विपसालाई स्थानीयबासीले भव्य स्वागत तथा सम्मान समेत गरेका थिए ।


कार्यक्रममा बोल्दै सहयोगदाता थापाले कर्मथलो बेलायत रहेपनि आफु जन्मेको हुर्केको ठाउँको सामाजिक कार्यमा संधै सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अरनीको आविका प्रअ फुलमायाँ विक, जनप्रिय आधारभुतका प्रअ शंखलाल रोका, शिवालय आधारभूतका प्रअ टिक प्रसाद रोका र जनता आधारभूतका प्रअ सिता सापकोटाले सहयोगदाता थापालाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

धुलेमेला संरक्षण समितिका अध्यक्ष रनबहादुर रोकाको अध्यक्षता, कृष्णप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सहयोगदाता थापामी आमा मगली पुन, छोरीहरु प्रमिना थापा, विपना थापा लगायतले समेत मन्तव्य राख्नुभएको थियो । सहयोगदाता थापाले बरंजामा पाँच दिने गणेश पुराण समेत लगाउनुभएको थियो ।

Leave a Reply