आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवको प्रचारप्रसार र भेटघाटलाई तिब्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाका लागि काठमाण्डौमा पर्यटनसँग सम्बन्धित निकायहरु, बैंक तथा वित्तिय संस्थाका साथै विभिन्न सरोकारवालासँग भेटघाट गरिएको छ ।

संघका अध्यक्ष बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, द्धितिय उपाध्यक्ष राजेश शाक्य, कोषाध्यक्ष अमित बानियाँ सहितको टोलीले आर्थिक सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, प्रभु बैंक, सेन्चुरी बैंक, माछापुच्छे बैंक, ग्लोवल आइएई बैंक लगायतका वित्तिय संस्थासँग समेत जिल्लाभित्र आर्थिक लगानी सहित महोत्सवका बारेमा छलफल गरेको द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

सोही अवसरमा पर्यटनको क्षेत्रमा म्याग्दीलाई प्राथमिकता दिन र विभिन्न पर्यटन सम्बन्धित गतिविधिका लागि समेत ब्यवसायीसँग भेटघाट गरिएको शाक्यले बताउनुभयो । यसैबीच महोत्सवलाई नै लक्षित गरी प्रधानमन्त्री कृषि परियोजना, पर्यटन प्रर्बधन केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी सहितसँग भेटघाट गरेको अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ‘महोत्सवलाई लक्षित गरी भेटघाट जारी छ, यसपटकको महोत्सवलाई थप ब्यवस्थित बनाउनेछौ’ अध्यक्ष कुटवालले भन्नुभयो ।

महोत्सव सफल बनाउन ३९ वटा उपसमिति गठन गरेर महोत्सवको तयारी तीव्र बनाएको छ । महोत्सव २०७७ र २०७८ मा कोरोना महामारीका कारण हुन नसकेको अवस्थामा यसपटक दर्शकको उत्साहजनक उपस्थिती हुने बताइएको छ ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र व्यापारिक ज्ञान सीप, पुजी र प्रविधि भित्राउन उद्देश्यले महोत्सवको आयोजना गरिएको छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । दुई हजार, पाँच सय र एक सय रुपैयाँ दरका टिकट बिक्री गरिनेछ ।

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।

बाल उद्यान, मिनी चिडियाघर, छेलो, अन्ध निशान, झाँकी र भेषभुषाको प्रर्दशनी हुनेछ । एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।

Leave a Reply