भौगोलिक रूपमा दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।

गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ६ मराङ र ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर घुम्ती शिविर सञ्चालन गरेको छ । मराङमा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका १८ वटा योजनाको वडा कार्यालयमा सम्झौता गरिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

मङ्गलबार मल्कवाङको वडा कार्यालयमा घुम्ती शिविर सञ्चालन गरेर योजना सम्झौता गरिने भएको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीलाई पालिकामा जाने आउने समय, झन्झट हट्नुका साथै व्ययभार घटेको अर्वाङ–थापाघडेरी मोटरबाटो निर्माण समितिका अध्यक्ष पदमबहादुर गर्बुजाले बताए ।

“मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा दुई दिन लाग्ने गर्छ”, उनले भने, “वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ ।” मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ ।

पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झञ्झटपूर्ण उल्टो यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ ।

मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृत धुव्र रिजालको नेतृत्वमा योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, जनक धानुकको टोली घुम्ती शिविर लिएर मराङ पुगेको हो ।

वडाका जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गर्नुभएको छ । प्राविधिक टोलीले यसअघि नै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरी पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको प्रशासकीय अधिकृत रिजालले बताए । आवश्यकता र मागका आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जान सकिने प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । ठूला योजना ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तीव्रता दिइएको छ । चालु आर्थिक वर्षमा एक सय २० वटा पूर्वाधारसम्बन्धी योजना छनोट गरेको धवलागिरि गाउँपालिकाले चारवटा ठेक्का सम्झौता गरेको छ ।

 

Leave a Reply