राजनीतिक दलले समानुपातिक सूचि बुझाएपछि बागलुङबाट संघिय संसद र प्रदेशसभामा गरी १४ जना निर्वाचित भएका छन् । तीमध्ये ३ जना मात्रैले यसअघि पनि संसदीय यात्रा गरेका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको तेस्रो पटक संसद यात्रा हो । उनी २०५६ र २०६४ सालमा पनि बागलुङबाट निर्वाचित थिए । दुइ पटक राजमोले एमालेको सहकार्यमा निर्वाचन जितेको थियो । यो पटक कांग्रेसको सहकार्यमा चुनावमा होमिएर केसी संसद पुगेका हुन् ।

दोश्रो पटक संसद पुग्ने माओवादी नेता देबेन्द्र पौडेल हुन् । २०७४ को निर्वाचनमा एमाले, माओवादी र राजमोको बाम गठबन्धनबाट पौडेल निर्वाचित थिए । पहिलो पटक संसद छिर्दा मन्त्री नपाएका पौडेलले नेकपा टुक्रा परेपछि कांग्रेसको सहकार्यमा बनेको गठबन्धन सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए । यो पटक उनी दोश्रो पटक संसद पुग्दैछन् ।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री भैसकेकी चम्पादेवी खड्का यो पटक प्रदेशसभामा पुगेकी छिन् । कांग्रेसको समानुपातिक सूचिबाट उनी प्रदेशसभा पुगेकी हुन् । उनको यो दोश्रो यात्रा हो । यद्यपी उनको भूमिका यसअघिको संसदमा संविधानसभा सदस्यको रुपमा थियो । यो पटक प्रदेशसभामा हुनेछ । अन्य ११ जना भने संसदीय यात्रामा नयाँ हुन् ।

संघिय संसदको २ निर्वाचन क्षेत्र रहेको बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नं. २ बाट माओवादीका नेता देबेन्द्र पौडेल निर्वाचित भएका थिए । मंसिर ४ गतेको निर्वाचनमा केसीले एमालेका सूर्य पाठक र पौडेलले मञ्जु शर्मा चालिसेलाई हराएर निर्वाचित भएका थिए । एमालेले संघिय संसदमा बागलुङका देवीप्रकाश भट्टचनलाई चयन गरेको छ । उनी जनजातीतर्फ पहिलो नम्बरको सूचिमा थिए ।

प्रदेशसभातर्फ कांग्रेसले ४ वटै क्षेत्र जितेको थियो । क्षेत्र नं. १ को १ मा कांग्रेसका दिपेन्द्र थापा निर्वाचित भए । उनले एमालेका हिराबहादुर केसीलाई पराजित गरेका थिए । १ को २ मा कांग्रेसका डिल्लीराम सुवेदीले जित्दा एमालेका नवराज पौडेल पराजित भए । क्षेत्र २ मा कांग्रेस सभापति जित शेरचन बिजयी भए । उनले स्वतन्त्र प्रकाश घर्तीलाई पराजित गरे । २ को २ मा कांग्रेसका द्रोण कुँवरले जितेका थिए । उनले एमालेका लक्ष्मण पुनलाई हराउन सफल भएका थिए ।

समानूपातिक सूचिमा भने बागलुङमा एमालेका सबैभन्दा धेरै निर्वाचित भए । एमालेका कृष्ण पाठक, लीलाबहादुर थापा, गोबिन्द नेपाली र बिना थापा गण्डकी प्रदेशसभामा पुगेका हुन् । नेपाली कांग्रेसबाट पूर्व राज्यमन्त्री चम्पादेवी खड्का र दिलमाया पौवी निर्वाचित भएका छन् । माओवादीबाट कुशुम बुढा पनि गण्डकी प्रदेशसभामा प्रवेश गरेकी छिन् ।

दुई पटकसम्म हारेका शेरचन तेस्रो पटकमा जित निकाल्न सफल भएका हुन् । थापा पनि यसअघि एमालेका इन्द्रलाल सापकोटासँग पराजित थिए । एमालेका केसी २०७० को संविधानसभामा कांग्रेसका हरि खड्कासँग पराजित भएका थिए । एमालेका सांसद बनेका लीला बहादुर थापा २०६४ र ०७० मा संविधानसभामा पराजित उमेदवार हुन् । त्यतिबेला उनी परि थापा नेतृत्वको नेकपा एकीकृतमा थिए । dhorpatannews.com

 

Leave a Reply