म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारका युवाले कालिगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जानका लागि नदीमा काठको अस्थायी पुल (साँघु) निर्माण गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीदेखि पारी पाउद्धारको पुछारमा रहेको तातोपानी कुण्डमा स्नान गर्न जाने पर्यटक र बिरामीको सुविधाका लागि स्थानीय कुमार तिलिजा पुनले व्यक्तिगत रुपमा एक लाख रुपियाँ खर्चिएर काठको अस्थायी पुल निर्माण गरेका हुन् ।

पुल बनाउन तिलिजाले काठका फ्ल्याक, बाँस र ग्याबियन झाली प्रयोग गरेका छन् । काठको पुल बनेपछि तातोपानी कुण्ड जाने बिरामी, पर्यटक र कुण्ड आसपासका सर्वसाधारण त्यही पुलबाट वारपार गर्ने गरेका छन् ।

कालिगण्डकी नदीमा पुल नहुँदा कुण्डमा स्नान गर्न आउने पर्यटक र बिराम नारच्याङको पुल तरेर घुमाउरो बाटो प्रयोग गरेर आउनुपर्ने बाध्यता थियो ।

यो पुल बनेपछि करिब एक घन्टाको बाटो ५ मिनेटमा छोटिएको तातोपानी कुण्ड स्नान गर्न पुगेकी रघुगंगा गाउँपालिका १ तिप्ल्याङकी लीला गुरुङले बताइन् । उनले भनिन्, ‘भाइले यहाँ आफ्नै पैसा खर्च गरेर काठेपुल बनाउनुभएको रहेछ, यसले हामी जस्ता बिरामी घुमाउरो बाटो आउनुपर्ने बाध्यता हटेको छ ।’

यो पुलले तातोपानी स्नान गर्न जाने पर्यटक तथा बिरामीलाई मात्र नभएर कुण्डवरपर बसोबास गर्ने स्थानीयलाई समेत सहज भएको छ । पुल जेठको १५ गतेसम्म नदिको पानीको बहाब बढी नहुँदासम्म रहनेछ । नदीमा पानीको सतह बढेपछि पुुल झिकेर राखिने तिलिजाले बताए ।

पुल बनाउन तिलिजासँगै दैनिक रुपमा ७ जनाले एक महिना काम गरेका थिए । मजदुरलाई ज्याला, पुल बनाउन प्रयोग भएका काठ, बाँस र ग्याबियन झालीसहित करिब १ लाख रुपियाँ खर्च भएको तिलिजाको भनाइ छ । पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन पाएप नि अहिलेसम्म रकम नपाएको उनको भनाइ छ ।

कुण्डको व्यवस्थापनको जिम्मासमेत लिएका तिलिजाले रोग निको बनाउन कुण्डमा स्नान गर्न आउने वृद्धवृद्धा घुमाउरो बाटो हिडेर आउन असहज हुने गरेको बताए । पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा पुल बनाउनका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाएको छ ।

झोलुंगे पुल नहुँदा यहाँ हिँउदको समयमा कालिगण्डकी नदी वारपार गर्न काठेपुलको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय कुण्डमा बिरामी र पर्यटक गरेर दैनिक रुपमा ४० जनासम्म आउने गरेको पुनले बताए ।

गाउँपालिकाबाट करिब १३ लाखमा ठेक्कामार्फत कुण्डको जिल्मा लिएका तिलिजाले पालिकाले कुण्ड क्षेत्रमा पूर्वधार निर्माण पनि जोड दिन आग्रह गरेका छन् ।

Leave a Reply