म्याग्दीको रघुगंगा गाउँपालिका-६,स्थित रायखोरका लिलबहादुर पुनले पहिरोले बगाएको घरखेतको कर तिरिरहेका छन् ।
डेढ दशक अगाडी बस्तीमाथिबाट खसेको पहिरोले विस्थापित भएका पुनले समेत पूरै जग्गाको मालपोत कर तिर्दै आएका छन् । तल्लो र माथिल्लो रायखोर गाउँ र आसपासको खेतीयोग्य जमिनको नाम–निसाना मेटिने गरी ३० घरपरिवार विस्थापित भएका थिए ।

बस्ती, खेतबारी गरी सयौं रोपनी जमिनको लालपुर्जामा पहिरो चलेपनि नियमित कर तिर्न वाध्य भएको स्थानीयको गुनासो छ। ‘घरसँगै खेतीयोग्य जमिनमा अहिले पहिरो छ,‘विस्थापित हुदाँ सुविधा समेत पाइएन्,अहिले नियमित कर तिर्नुपरेको छ’स्थानीय पूर्व वडा सदस्य लिलबहादुरले भने ।

उनले पहिरोस्थलको जग्गाको समेत जग्गाधनी पूर्जा कामयमै रहेकोेले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्नु परेको बताए । रायखोर पहिरो आसपासमा पशुचौपायाको चरन क्षेत्रको रुपमा समेत प्रयोग गर्न नमिल्ने अवस्था रहेको जग्गा सार्वजनिक गरी तिरो नतिर्ने सुविधा दिन स्थानीयको माग छ ।  पहिरोले बगाएको जग्गाको कर तिरेर स्थानीय आजित भएको बताउँदै समस्याको समाधान गर्न समेत माग गरेका छन् ।

कमजोर भौगर्भिक अवस्थाका कारण वडाभित्र हरेक बर्ष खेतीयोग्य जमिन बगरमा बनिरहेको छ । खेतबारी नै बगर र पहिरोले लगेपछि कृषिजन्य उत्पादन समेत आयात गर्नुपर्ने बाध्यता रहेको छ ।रायखोरको पहिरो जिल्लाको ठूलो पहिरोमध्येमा पर्छ ।

यता वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताएले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएको अवस्थामा सामुदायिक बनलाई हस्तान्तरण गरेमा सहज हुने बताए । उनले प्रयोगविहिन जग्गालाई पालिकाले कर छुट गरेको बताउँदै जग्गालाई सार्वजनिक जग्गामा दर्तागरी मालपोत कर कट्टा गर्न सकिने बताए । समुदायमा हुँदै नभएको जग्गा र उपभोग गर्नै नमिल्ने जमिनको कर तिर्न वाध्य भएका स्थानीयलाई मालपोत कार्यालयसँग समन्वय गरी सहज बनाउने गरिएको गाउँपालिकाले जनाएको छ ।

आफ्नो जमिनलाई सार्वजनिक गर्दा भविस्यमा हुने असर तथा बाढीपहिरोस्थलमा समेत उक्सिने र पुनः खेती गर्न पाइने आशमा धेरैले बषौंदेखि कर तिर्ने गरेको मालपोत कार्यालयले जनाएको छ । प्रयोगविहिन जमिनको लगत कट्टा गरी स्वामित्व हस्तान्तरणमा झन्झट नभएपनि प्रयाप्त जानकारीको अभावका कारण स्थानीयले करको बोझ बोक्नुपरेको छ । जिल्लाभर हजारौं हेक्टर जमिनमा बाढीपहिरो, खोलानाला बग्ने भएपनि आर्थिक अवस्था कमजोर भएकाले समेत कर तिर्दै आएका छन्।

 

 

Leave a Reply