म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुर्याइएको छ । आगामी वैशाखदेखि व्यावसायिक उत्पादन थाल्ने तयारीका साथ आयोजनाको निर्माणलाई यतिखेर तीव्रता दिइएको हो । आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकल तर्फका कामहरू अन्तिम चरणमा पुगेका छन् ।

१५ महिना अघि ३ हजार ५ मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाको सुरुङ भित्र ढलानको काम सकेर पाइप राख्ने काम थालिएको छ । आयोजनाले पोखरेबगरमा निर्माण गर्न लागेको विद्युतगृहको संरचना निर्माण सकेर अन्तिम फिनिसिङको काम भइरहेको छ ।

आयोजना निर्माण करिब अन्तिम चरणमा आइपुगेको छ आयोजनाका इन्जिनियर जोसेफलाल बज्राचार्यले भन्नुभयो ‘जेनरेटरका पार्टहरू एसम्ली गरिएको छ । ट्रवाइन र  ट्रान्सफर आइपुगेको छ । उत्पादित विद्युतलाई दाना सबस्टेशनमा जोड्ने प्रसारण लाइन निर्माण माघको पहिलो हप्ता सक्ने लक्ष्य छ । विद्युत् गृहको सिभिलको काम माघ महिनाभित्र सक्ने तयारी छ ।’ कतिपय सामानहरू भन्सारमा आइपुगेको र एक हप्ताभित्र आयोजना स्थलमा आइपुग्ने र जडानको काम थाल्ने उहाँले बताउनुभयो । अव करिब करिब आयोजना निर्माण अन्तिम चरणमा प्रवेश गरेकाे छ आयोजनाका इन्जिनियर बज्राचार्यले भन्नुभयो ‘नयाँ वर्षदेखि व्यावसायिक उत्पादन थाल्नेछौँ ।’

अन्नपूर्ण गाउँपालिका–५ सिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ । आयोजनाले हेडबक्सका संरचनाहरूमा पानी भरेर परीक्षण गर्ने काम सकिएको इन्जिनियर बज्राचार्यलेले बताउनुभयो । पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर तयार पारेको जग्गामा विद्युत् गृह निर्माण गरिएको छ  ।  अमिलाकाफलमा रहेको आउट लेटदेखि विद्युतगृहसम्म १२ सय २०  मिटर पेनस्टक पाइप जडान सकिएको छ ।

फागुन मसान्तसम्म इलेक्ट्रोमेकानिकल जडान गर्नेलगायतका सम्पूर्ण काम सकेर चैत १५ पछि परीक्षण उत्पादन थाल्ने उहाँले बताउनुभयो ।  आयोजनाको  हेड ४ सय ८० मिटर छ । आयोजनाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.लि इन्डिया र हाइड्रो मेकानिकल ठेकेदार सिई हाइड्रो मेकानिकल वर्क प्रा.लि.ले उपकरण तयार पारेको उहाँले बताउनुभयो ।

पोखरेबगरदेखि २२० केभिए क्षमताको दाना सब स्टेसनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजना २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु भएको थियो । दुई अर्ब ४२ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैङ्कको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।

Leave a Reply