म म्याग्दी जिल्लालाई नजिकबाट चिन्छु । म्याग्दी मगर जातीको बाहुल्य रहेको जिल्ला हो । उहिले करिब १३ महिना जति सिंगातातोपानी बजारमा बस्ने अवसर जुरेको थियो ! त्यस अवधिमा म्याग्दीका थुप्रै गाउँहरुमा पुगेको छु । म स्पष्ट पार्न चाहान्छु कि म कुनै इतिहास विज्ञ होइन । कुनै ठुलै सामाजिक बिश्लेषक पनि होइन । एक मामुली नेपाली हुँ, मगर हुँ । आफ्नै बनिबुताे र मजदुरी गरेर आफु र आफ्नो परिवारको ज्यान पालिरहेको छु । त्यसकारण मेरा लेख र बुझाइहरुमा तपाईंका असहमती हुन सक्छन् । त्रुटीहरु हुन सक्छन् त्यसको खण्डन गर्ने अधिकार तपाईंलाई सुरक्षित रहेको अग्रिम जानकारी दिँदै लेख आरम्भ गर्दछु ।

खास गरी बेनी देखी कालीगण्डकी तर्फ छाडेर म्याग्दीखोला तर्फ अर्थात पश्चिम म्याग्दी तर्फका गाउँहरु – सिंगातातोपानी, बरङ्जा, दरुवा, बावियाचौर, ताराखेत, रातेढुङ्गा, दर्बाङ्, फुलबारी, निस्कोट, रुम, डाँडागाउँ, चिउरीबोट, महभिर, सिस्नेरी, देविस्थान, जुक्जा, पोन्थोक, घर्तिथोक, धारपानी, मुना, ताकम्, लम्सुङ्, मुरेनी, गुर्जा यि सबै गाउँमा पुगेको छु । धौलागीरीको काखमा रहेको गुर्जा र लुलाङमा छन्त्याल समुदायको बाहुल्यता रहेछ भने अन्य धेरै जसो गाउँहरुमा मगर समुदायको बाहुल्यता भेटिन्छ ।

Local women of Chimkhola, Myagdi district clad in traditional magar attires performing their cultural dance on Monday, March 21, 2016. Photo: RSS

म्याग्दीको पुर्वी गाउँहरु भने घुम्ने अवसर जुरेन त्यो बेला । शेख, पाउद्वार, खिबाङ्, मराङ्, घोडेपानी, नागी लगायतका गाउँहरु जान पाइएन । पछिल्लो समय आएर थाहा भयो नागी गाउँ आदरणीय चर्चित व्यक्तित्व महाविर पुन दाइको जन्मगाउँ रहेछ । बेनी देखी ठाडै उकालो यात्रा गरेर गलेश्वर सम्म भने पुगेको छु ।

Artists perform tradition Sorathi dance in Beni of Myagdi district, on Tuesday, February 12, 2019. A tradition Sorathi dance is performed by ethnic Magar community in Nepal. Photo: RSS

यसक्रममा यस जिल्लाका मानिसहरुसंग मात्रै हैन यहाँको सुन्दर भौगोलिक पदयात्रासंग नजिक भएँ, यहाँका भाषा, संस्कार र रितिथितिहरु नियाल्ने मौका पाएँ ! ताकम् गाउँका एकजना पुन मगर बुवासंग एक दिन समय बिताएर गफिएका थियौँ । म रुकुमको मैकोट गाउँबाट आएको भन्ने मेरो परिचय पाएपछि उहाँ बुवाले म संग आफ्ना अन्तरङ्गका कुराहरु आदानप्रदान गर्न हौसिनु भएको थियो ।म्याग्दीका पुन मगरहरु पनि उतै रुकुमको हुकाम मैकोटबाट आएका हौँ । पुर्खाहरु उत्पति भएको त्यो भूमी, त्यो गाउँ र समाजमा एकपटक भएपनि ज्युँदो छँदै पुग्न पाए हुन्थ्यो भन्ने उत्कट चाहना छ, उहाँले निकै भावविभोर मुद्रामा भन्नुभएको थियो ।

उहाँका अनुसार म्याग्दीमा भएका थरहरु पाइजा, गर्वुजा, शेर्पुंजा, पुर्जा, पहरे लगायतका सबै थर पुन थर भित्रकै उपथरहरु हुन् । भाषा कसरी हरायो भन्ने सन्दर्भमा उहाँले भन्नु हुन्थ्यो- ”देविस्थान गाउँ भन्दा केही माथी पुस्तौँ पुरानो दरबारको भग्नावशेष छ । जुन अहिले माटोले पुरिएर निशानी मात्रै बाँकी छ । र त्यो दरबार त्यस क्षेत्रको मगर राजाको दरबार थियो । जतिबेला सम्म यस क्षेत्रका मगरहरु मगर भाषा बोल्दथे । करिब पन्ध्रौँ शताब्दीतिर (आज भन्दा ६ युग अगाडी) ति मगर राजालाई जितेर एकजना मल्ल राजाले शासन शुरु गरे । जब मल्ल राजाको शासन शुरु भयो तब दरबारमा काम गर्दै आएका मगर भाषिक मान्छेहरुले आफु आफुमा बोलेको मगर भाषा उनले बुझेनन् र तत्काल उनले उर्दि गरे अब उप्रान्त दरबारमा मगर भाषा बोल्न पाइने छैन !

मल्ल राजाले दरबारमा मात्रै हैन बिस्तारै सम्पुर्ण राजकाजका काममा मगर भाषा प्रयोग गर्न नपाईने र प्रयोग गरेको पाएमा जिब्रो काट्ने कानुन् जारी गरीदिए !” ति बुबाको मौखिक इतिहास आधार मान्दा मल्ल राजाले मगरहरुको भाषामाथी कानुनी प्रतिबन्ध लगाएकै प्रभावले म्याग्दी क्षेत्रका मगरहरुको भाषा एकपछि अर्को लोप हुँदै खसभाषाको बिजारोपण भएको बुझिन्छ । र मलाई लाग्छ बुबाको इतिहास प्रतिको मौखिक चित्रणमा धेरै हदसम्म सत्यता छ । करिब ६ सय बर्ष अघि नै प्रतिबन्धमा परेको मगर भाषा आजपर्यन्त कसरी रहन सक्छ ? ६ सय बर्ष भनेको करिब १० पुस्ता हो ।

अर्को कुरा यही म्याग्दी जिल्लाबाट २०६८ सालतिर ‘कर्पाकेली अनुसन्धान परिवार’ नामको अभियान टोली रुकुम पुर्वको मैकोट गाउँ पुगेको थियो । जुन गाउँलाई मगरहरुको उद्गम थलोको रुपमा चिनिन्छ । र ति कर्पाकेली टीमले पनि भनेका थिए – ‘हाम्रो पुर्खाहरु यतैबाट म्याग्दीतिर लागेको किंवदन्ती छ यसकारण एकचोटी के कसो रहेछ बुझौँ चिनजान गरौँ भनेर मैकोट आएका हौँ !’

त्यसबेला ठ्याक्कै हाम्रो मैकोटीहरुको ठुलो पर्व मंसिरे संक्रान्ति मेला थियो । म त्यो मेला सँगै आयोजना गरिएको पुपाल युवाक्लबको बार्षिकोत्सवको विभिन्न कार्यक्रममा समय दिनु परेकोले कर्पाकेलीका ति पाहुनाहरुसंग लामो भलाकुसारी गरेर संगै समय बिताउँने अवसर पाएनँ । त्यसकारण त्यसबखत उहाँहरुले मैकोटबाट के के सिकेर, सुनेर र जानेर फर्कनु भयो म पूर्ण जानकार छैन ।

तर समग्रमा उहाँहरुले आफ्नो इतिहास खोज्दै मैकोट पुगेको कुरा भने सत्य हो । त्यसकारण चाहे ताकम गाउँमा मैले भलाकुसारी गरेको बुवाको कुरा भनौँ चाहे कर्पाकेली परिवारले मैकोटसम्म पुगेर खोज्न गएको इतिहास भनौँ यो दुवैको अर्थ हो म्याग्दीबासी मगरहरुको पुर्खा रुकुम पूर्वको हुकाम मैकोट बाटै आएको हो भन्नेमा दुईमत छैन । किन की हुँदैनभएको कुरा मौखिक इतिहासमा भए पनि भेटिँदैन ।

Artists perform tradition Sorathi dance in Beni of Myagdi district, on Tuesday, February 12, 2019. A tradition Sorathi dance is performed by ethnic Magar community in Nepal. Photo: RSS

हाम्रो इतिहास लिखित अभिलेखिकरण हुन नसके पनि मौखिक रुपमा बुवाले छोरालाई छोराले नातीलाई सुनाउँदै सुनाउँदै पुस्तान्त्रण हुँदै आउँदा पुस्तौँ पुस्तापछि आज आएर केही यथार्थहरु बाँङ्गिएर, अपभ्रंश भएर आउन सक्छ त्यो मान्न सकिन्छ तर त्यसको मत्लब यो मौखिक इतिहास वाहियात हो भन्ने हुनै सक्दैन । त्यसभित्र ठुलो यथार्थता छ । त्यसकारण म्याग्दिवासी मगरहरुको यो मौखिक इतिहास पनि धेरै हदसम्म सत्य छ ।

Members of the Magar community perform a traditional dance during a Deusi Bhailo programme for celebrations of the five-day Tihar festival, in Beni of Myagdi district, on Saturday, October 29, 2016. Photo: RSS

यसरी हेर्दा पनि म्याग्दीका केही पुन मगरहरुको ‘हामी मगर होइनौँ’ भन्ने तर्क निकै नै कपोलकल्पित र निराधार बन्छ । कर्पाकेली परिवार जो आफै आफ्नो इतिहास खोज्न मगर खाम भाषिक पुन मगरहरुको बाहुल्यता रहेको मैकोट पुगेको थियो उनै कर्पाकेलीले अहिले – ‘हामी पुनहरु म्याग्दीको यही काफलडाँडामा उत्पति भएर जताततै छरिएका हौँ भन्ने कुप्रचार गर्दै बसेको छ ।

ठिक छ एउटा कालखण्डमा काफलडाँडा क्षेत्रमा कर्पाकेली नामका एक शक्तिशाली र अद्घुत क्षेमताका पुन मगर झाँक्रीको जन्म भयो होला त्यसकारण आज उक्त कर्पाकेली पितृको नाममा काफल डाँडामा कर्पाकेली झाँक्री खलकका पुन मगरहरुले कुल पुजा गर्नु, कुल पितृघर निर्माण गर्नु राम्रो कुरा हो गर्वको कुरा हो ।

जुन हामीले पनि गर्ने गर्छौँ मैकोटमा । तर त्यसको मत्लब पुनहरु त्यै काफलडाँडामै उम्रेको झैँ गरी ब्याख्या गर्नु, अझ मगरै होइनौँ भनेर भ्रम पैदा गर्नु जतिको ऐतिहासिक बेइमानी अरु के हुन सक्छ ? इतिहासकाे सच्चाई माथीको ठुलो घात हो यो । स्मरण रहोस् मगर समुदायमा कुलपुजा सम्बन्धीत कुलबाट बढेका जन्मेका कुलभित्रकाहरुले मात्रै गर्ने हो । आज मगर भित्र अनगिन्ती कुलहरु छन् । मगर भित्र मात्रै हैन मगर भित्रका थर उपथरको समेत कयौँ कुल निर्माण भएको छ ।

त्यै अन्तरगत पुन मगर भित्रको त्यसमा पनि म्याग्दीको पुन मगरहरु मध्यको काफलडाँडाको कर्पाकेली एउटा कुल हो अर्थात खलक हो । अनि एउटा कुलको अर्थात खलकको केही सय वा हजारको संख्यामा फैलिएको पुनहरुले लाखौँको संख्यामा रहेका पुनहरुलाई समेत आफ्नै चिहानमा भासेर मगर हैनौँ भन्न मिल्छ ? यो कस्तो खालको चेतना हो ? केही दिन अघि म राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख आदरणिय महाविर पुन मगर दाइलाई यही कुरा बारे जिज्ञासा राख्दै भनेको थिएँ – ”तपाईंको गाउँलेहरुले त हामी मगर हैनौँ भनेर उधुम गर्नु भएको छ यसबारे दुई चार शब्द भन्नु पर्यो दाइ के छ तपाईको बुझाई र सुझाव ?” जवाफमा भन्नु भयो – ”यो छोटो र अबुझहरुको काम हो भाइ । १५/२० बर्ष चल्छ त्यसपछी आफै हराउँछन् ।” दाइको जवाफ पछि मैले अर्को प्रश्न गरिनँ ।

आज म अरुले भन्ने गरेको – ”केही सिमित मानिसले लाहुरे हुन हाम्रो जात र थर चोरे अनि आज आफ्नो औकात देखाउँदै छन्” भन्ने आरोप उहाँहरुलाई लगाउँन चाहान्न । हो मगरको जात चोरेर लाहुरे बनेका कयौँ ताजा उदाहरण छन् । तर कम्तिमा कर्पाकेली खलकका यि पुन मगर दाजुभाइहरुको हकमा यो आरोप ठिक होइन भन्ने मान्छु म । उहाँहरु सच्चा पुन मगरका सन्तान नै हुन भन्ने मेरो दाबी छ । उहाँहरुले कुल्चन र पुरन्चन पितृलाई मान्नु, हाँस्या गोर्या भेडाको साँढ र कुखुरा भाले पुजा गर्नु यि ठ्याक्कै हाम्रो रुकुमको मैकोटको संस्कार सँग धेरै भाग मेल खान्छ ।

हाम्रोमा रम्मा कुल्चन र पुरन्चन भनेर झाँक्रीहरुले आफ्ना स्लोक खेतीमा सुनाउँने गर्छन् (मैकोटको मगर खामभाषामा ‘रम्मा / र्मा’ भनेको झाँक्री भनेको हो)। यसर्थ कुल्चन र पुरन्चन मगर सभ्यता सँग जोडिएका पुर्खाका दुई पात्रहरु हुन् र उनिहरु त्यो एउटा कालखण्डका विद्धान झाँक्री थिए भनेर सहजै बुझ्न सकिन्छ । अनि यो इतिहाससंग जोडिएकाहरु, आफ्ना पुर्खाको लहरा रुकुमको मैकोट सम्म जोडिएकाहरु कसरी गैरमगर हुन सक्छन ? लाहुरे बन्नको लागी पुन मगर बनेको अथवा मगरै नरहेको कसरी हुन सक्छ ? यो कुरा सँग म असहमत छु । उहाँहरु असलि पुन मगर नै हुन् ।

केही समय अघिको ईन्द्रेणी परिवारको भिडिओमा भनिएको थियो अरु मगरहरुले सुंगुरको पुजा गर्छन् हामीले त पुजा त के सुंगुर छोइयो भने पनि चोखिएर घरभित्र छिर्नु पर्छ भनेर । म स्मरण गराउँन चाहान्छु तपाइहरुको पुर्खाको भूमी रुकुमको मैकोटमा त झन युगौँ देखि सुंगुर पाल्न समेत प्रतिबन्धित थियो । मैकोटको भूमीले सुंगुर सहँदैन, यहाँका सिमिभूमी र देउपित्रले स्विकार्दैनन्, सिद्धमस्ता रिसाउँछन् बाढी पहिरो जान्छ भन्ने कथन थियो, मानवविश्वास थियो । तर जब दशबर्षे जनयुद्ध शुरु भयो मानिसहरुमा ह्वात्तै आधुनिक चेतनाको विकास भयो । अन्धविश्वासहरुको भण्डाफोर गर्दै क्रान्तिकारी विचारको विजारोपण भयो ।

अहिले दशकौँ बर्ष भयो मैकोटमा सुंगुर त थाहा भएन तर बङ्गुर पालन मज्जाले चलेको छ । तर सुंगुर मैकोटका मगरहरुको पुजामा त के कुनै पनि संस्कार सँग जोडिँदैन । जन्मिँदा, छुटिँदा, विहे गर्दा, मर्दा र पुजा आजा गर्दा कुनै पनि बेला सुंगुर प्रयोग हुँदैन । भेडा, भेडा पाठा, बाख्रा, बोका, कुखुरा भाले यि मात्रै प्रयोग हुन्छन् । यसकारण यो सुंगुर प्रथाले पनि तपाई म्याग्दीको कर्पाकेली खलकहरुको पुर्खा मैकोटसम्म जोडिएको प्रमाणित गर्छ । अनि तपाईहरू आफुलाई मगर हैन भनेर कसरी भन्न सक्नु हुन्छ ? जहाँसम्म भिडिओमा अरु मगरहरुले सुंगुर पुजा गर्छन भन्ने आरोप छ त्यो मगर भित्रको विविधता हो । हो अधिकांश मगरहरुले सुंगुर खान्छन् बिहे तथा भोज भतेर सम्ममा सुंगुर काट्छन् । पाहुना आउँदा पनि सुंगुर काट्छन् !

एकाध पुजामा सुंगुर पनि चढाउँछन होला । यद्धपी मैले सुंगुर पितृथानै पुजा गरेको चैँ देखेको छैन । यदि कतै मैले नजानेको वा थाहा नपाएको ठाउँमा गर्दै रहेछन् भने त्यो अपवाद मान्ने छु । अन्यथा यो सुंगुर पुजा गर्छन् भनेर अन्य मगरलाई अलग देख्नु वा आफुहरु मगर भन्दा अलग हौँ भन्नु समग्र मगर संसार नचिहाएरऽ नबुझेर अपरिपक्व रुपमा गरिएको तर्क हो । जसले मगर एकतालाई खलल् पार्ने काम गर्दछ ।

यत्तिका हजारौँ बर्षको इतिहास बोकेको नेपाल अधिराज्यभरी छरिएर बसेका मगरहरु, केही पुस्ता अघिबाट सृजेको छुटेको एउटा कुल र खलकको जस्तो सबै सबै परम्परा १००% मिल्ने दुरुस्तै उस्तै हुनुपर्ने कुरा सोँच्नु आफैमा अधकल्चो सोँच हुन जान्छ । यत्रो लामो समयको प्रकारान्तरमा कतिपयले भाषा बिर्स्यौँ, कतिपयले संस्कार बिर्स्यौँ, कतिपयले इतहासै बिर्स्यौँ जस्ले गर्दा एउटै मगरहरुको भाषा बाँडियो, परम्परा र संस्कार बाँडियो नयाँ र परिमार्जित तथा अपभ्रमित रितिरिवाजहरुको पैदा भए त्यसकै निरन्तरतामा पुस्तौँ पुस्ता बित्दै चल्दै आज हामी एक्काइसौँ शताब्दीमा आईपुगेका छौँ । यो उस्तै र दुरुस्तै कसरी हुन सक्छ ? तर जो जहाँ रहेर जसरी जुन तरिकाबाट भएपनि पुर्खा र देउपित्रको सम्मान, सम्झना र पुजाआजा गरेकै छौँ ।

यसलाई हामीले मगर भित्रको साँस्कृतिक र भाषिक विविधता भनेर गर्वका साथ एकअर्कालाई स्विकार्दै राज्यको अगाडी बलियो मगर एकता र इतिहास प्रस्तुत गर्नु, दर्ज गर्नु ठुलो कुरा हो, आजको आवश्यकता हो ! तर यसको विपरित एकअर्काको घोँचपेच गर्ने, आफुले गरिरहेको र मानिरहेको धर्म रितिथिति मात्रै राम्रो अरुको नराम्रो भन्ने, आफुले बोल्ने भाषा चैँ मगर भाषा अरुले बोलेको चैँ अमगर भाषा ठान्ने ।

त्यै विभेदको दृष्टिबाट विभेदकारी सोँच पैदा गरेर म मात्र मगर हुँ भन्ने अथवा म मगरै हैन भन्ने । यस्ता काइते र गोज्याङ्ग्रो बुद्धि काँ बाट आउँछ हामीलाई ? एकता जस्तो सर्वशक्तिमान चिज अरु केही हुँदैन भन्ने कुरा नबिर्सन सबै सबै मगर आमाबुवा, दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दै यत्रो लामो लेख ध्यान दिएर पढिदिनुभएकोमा हजुरलाई पनि बिशेष आभार प्रकट गर्दै विदा चाहान्छु । धन्यवाद ! जदाै, झोर्ले, सिंमेपाउ !! Source:-kakhara.com

Leave a Reply