म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो ।

जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा सञ्चालन गरेको प्रकाश माविद्वारा ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित अन्तरमाविस्तरीय विज्ञान प्रदर्शनीको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले उद्घाटन गर्नुभयो ।

विज्ञान प्रदर्शनीमा आयोजक प्रकाश माविसहित बेनी सामुदायिक मावि, बेनी बोर्डिङ आवासीय मावि, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि, फर्से धाईरिङ मावि, माउण्ट एभरेष्ट आवासीय मावि, लिटिल गार्डेन एकेडेमी, बालमन्दिर आधारभूत विद्यालय र ज्ञानप्रकाश मावि दाना सहभागी भएका थिए ।

विज्ञान प्रदर्शनीमा सहभागीमध्ये बेनी बोर्डिङ प्रथम , आयोजक प्रकाश मावि द्वितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र बेनी सामुदायिक मावि तृतीय तथा फर्से धाईरिङ मावि सान्त्वना भएको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो । उत्कृष्ट विद्यालयहरुलाई क्रमशः नगद सातहजार, पाँचहजार, तीनहजार र एकहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

जिल्लाका विभिन्न ९ वटा विद्यालयहरुले सहभागिता जनाएको विज्ञान प्रदर्शनीको इकाई प्रमुख थापा, विद्यालयका पूर्व प्रधानाध्यापक तथा विज्ञान विषय शिक्षक हरिकृष्ण सुवेदी र धवलागिरि माविका पूर्व प्रधानाध्यापक तथा वर्तमान विज्ञान शिक्षक डण्डपाणि सापकोटाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

किताबी ज्ञानलाई व्यवहारमा परिवर्तन गर्न र विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित क्षमतालाई प्रष्फुटन गराउने उद्देश्यसहित विज्ञान प्रदर्शनी आयोजना गरिएको प्रकाश माविका सहायक प्रअ टेकप्रसाद सुवेदीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालको स्वागत र सहायक प्रअ विनय श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयका विद्यार्थीहरुद्वारा हस्तकलाको प्रयोगमा निर्माण गरिएका सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

 

Leave a Reply