बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटवासीको मागलाई सम्बोधन गर्न बेनीको कालिपुल स्थित कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण हुने भएको छ । पर्वत बेनी देखि बगरफाँट जोड्ने सडक कालिगण्डकी नदीले कटान गरेपछि यो वस्ती सडक सुविधाबाट बञ्चित हुँदै आएको छ ।

बेनी नगरपालिका ८ स्थित कालिपुल बजार देखि जलजला गाउँपालिका ३ बगरफाँट वस्तीलाई जोड्ने गरी बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम – कोरला सडक आयोजनाले दुईकरोड रुपियाँ लागत अनुमान सहित टेण्डरका लागि सूचना प्रकाशित गरेको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो ।
बेनी जोमसोम सडक अन्तर्गत पोखरेबगर स्थित कालिगण्डकी नदीमा हाल प्रयोगविहिन अवस्थामा रहेको बेलिब्रिजलाई कालिपुलमा जडान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार आगमी असार महिना भित्रै बेलिब्रिज निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

बगरफाँट जोड्ने सडक कालिगण्डकीमा आएको बाढीले बगाएपछि दुईवर्ष देखि बगरफाँटवासी सडक सुविधाबाट बञ्चित हुँदै आएका छन् । सडक सुविधाबाट बञ्चित भएका बगरफाँटवासीहरुले कालिपुल देखि बगरफाँट जोड्नका लागि पुल निर्माणको माग गर्दै विभिन्न समयमा आन्दोलन समेत गर्दै आएका थिए ।

कालिगण्डकी नदीमा पुल निर्माणमा पहल गर्ने प्रतिवद्धता नजनाएसम्म गत मङ्सिरको निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारहरुले बगरफाँट पुगेर पुल निर्माण गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचित भएसँगै पर्वतका सांसद पदम गिरी बगरफाँटवासी समक्ष गरेको प्रतिवद्धता पुरा गर्न काठमाण्डौं स्थित सडक विभागमा पुगेर विभागका डिजी अर्जुनजंग थापासँग छलफल गर्नुभएको थियो ।

निर्वाचनका समयमा नेताहरुले जनाएको प्रतिवद्धता पुरा हुनेभएको छ जलजला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश जिसीले भन्नुभयो ‘म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको भएपनि कालिगण्डकीमा पुल नहुँदा दुर्गम जस्तै छ ।

दैनिक उपभोग्य वस्तु,विकास निर्माणका सामग्री,निजी आवास निर्माण लगायतका सामानहरु ढुवानी गर्दा आठ किलोमिटर दुरीको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । अहिले बगरफाँटवासीको मागको सुनुवाई भएकोमा खुसी लागेको छ ।’ नदीले कटान गरेको सडक बनाउन संंभव नभएकाले पुल हाल्नुको विकल्प नभएको उहाँले बताउनुभयो । बेलिब्रिज निर्माण भएपछि बेनी सँग बगरफाँट सिधा यातायातमा जोडिने छ ।
करिब तिनसय घरधुरीको बसोवास रहेको बगरफाँटवासीले दैनिक उपभोग्य वस्तुहरु भरियालाई रकम तिरर झोलुङे पुलबाट बगरफाँट पु¥याउँदा सामानको मुल्य महङ्गो पर्नेगरेको वडा अध्यक्ष जिसीले बताउनुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र प्रतिनिधिसभामा पर्वतबाट निर्वाचत सांसद गिरीले कालिगण्डकी नदीमा बेलिब्रीज निर्माणका लागि यसअघि गरेको पहलले सार्थकता पाएको भन्दै बगरफाँटवासीहरु उत्साहित बनेका छन् ।

हिउँदमा सडक बनाउने र बर्खायाममा नदीमा पानीको सतह बढेसँगै बगाउने गरेको थियो । बगरफाँटका बासिन्दा म्याग्दी आवत जावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको छ । बगरफाँटमा बसोबास गर्ने विद्यार्थी,शिक्षक,कर्मचारी लगायतका सर्वसाधरणहरु म्याग्दी बेनी आवतजावत गर्न निकै समस्या हुनेगरेको छ । bikalpa news

Leave a Reply