प्रताप बानियाँ
म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले विविध कार्यक्रमसहित ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा पूर्व विद्यार्थी तथा जनप्रतिधि, शिक्षक–विद्यार्थी सम्मान, विज्ञान प्रदर्शनी, प्रकाशपुञ्ज बिमोचनलगायत कार्यक्रमहरु गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले विभिन्न विधातर्फ सम्मान गरेको जनाएको छ ।

सम्मानित हुनेहरुमा पूर्व विद्यार्थीहरुतर्फ गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ, ६ नम्बर वडाध्यक्ष कृष्णसिं बानियाँ, बेनी नगरपालिकाको कार्यपालिका सदस्यहरु सृजना श्रेष्ठ, कृष्णकुमार विश्वकर्मा, किसान विश्वकर्मा, वडा सदस्यद्वय रमेश फगामी, हिरा पुन, एसएलसी व्याच २०४१ का संयोजक राजेन्द्रकुमार श्रेष्ठ र म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा रहनुभएको छ । उहाँहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

यसैगरी विद्यालयको सर्वाेकृष्ट शिक्षकतर्फ खगेश्वर रिजाल, उत्कृष्ट अतिरिक्त क्रियाकलाप संयोजन डिलप्रसाद श्रेष्ठ, उत्कृष्ट कक्षा शिक्षक नारायणप्रसाद ढुङ्गाना, उत्कृष्ट संयोजक कविराम थापा, लगनशील कर्मचारी भगवान रिजाल, उत्कृष्ट अभिभावक भूपेन्द्र बुढाथोकी, उत्कृष्ट विद्यार्थीद्वय समिर सुवेदी (बालविकास–१०), समुन्द्र भण्डारी (११–१२), प्रशिक्षकतर्फ भलिबलका कुमार किसान, फुटबलका स्वदेश श्रेष्ठ र बास्केटबलका देव मल्ललाई पनि सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो ।

वार्षिकोत्सवको अवसर पारेर युवा रेडक्रस सर्कलद्वारा प्रकाशित प्रकाश माविको साहित्यिक कोसेली ‘प्रकाशपुञ्ज वर्ष–१७ अङ्क १’ विमोचन गरिएको थियो । कार्यक्रममा शुक्रवार गरिएको विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यालयहरु बेनी बोर्डिङ आवासीय मावि पं्रथम, आयोजक प्रकाश मावि द्वितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र बेनी सामुदायिक मावि तृतीय तथा फर्से धाईरिङ मावि सान्त्वना भएकोमा उनीहरुलाई क्रमशः नगद सातहजार, पाँचहजार, तीनहजार र एकहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको सहायक प्रअ श्रेष्ठले बताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विद्यार्थीहरुलाई समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । विद्यालयको पूर्व विद्यार्थी एवं आजीवन संरक्षक समेत रहनुभएकी प्रदेश सभा सदस्य गौचनले राज्यले शैक्षिक क्षेत्रमा वर्षेनी बजेट विनियोजन गर्दा प्राथमिकता दिएको भए पनि त्यो पर्याप्त नभएको भन्दै आफूले प्रदेश सरकारमार्फत जिल्लाको शैक्षिक विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, विद्यालयका पूर्व प्रअ हरिकृष्ण सुवेदी, पूर्व विद्यार्थी राजेन्द्रकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका कार्यवाहक सभापति अमर बानियाँ र म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार श्रेष्ठको अध्यक्षता, सदस्य हरिकृष्ण श्रेष्ठ र विद्यार्थी समिर सुवेदीको स्वागत तथा प्रधानाध्यापक लेखबहादुर हमालले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम सहायक प्रअ विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply