कालिगण्डकी नदीले कटान गर्ने म्याग्दीको सदरमुकाम बेनीको उच्च जोखिम क्षेत्रमा पक्की आरसीसी पर्खाल निर्माण सुरु गरिएको छ । दुई वर्षअघि कालिगण्डकीमा आएको बाढीका कारण कटान गरेको क्षेत्र म्याग्दी जेसिजको भवन देखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडीको भागसम्म कालिगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालिएको हो । बजारको यो किनार नदी कटानबाट उच्च जोखिममा छ ।
कालिगण्डकी नदी कटानको उच्च जोखिममा रहेको कालिपुल वसपार्क र जेसिज भवन रहेको भागमा पक्की पर्खाल लगाउन गत वर्ष रुपताल संरक्षण एकिकृत विकास परियोजनाले ९ करोड ४५ लाख रुपियाँमा रौताहट–विएनबी कन्ट्रक्शन जेभीसँग ठेक्का सम्झौता गरेको परियोजनाका इन्जिनियर कृष्णबहादुर विकले जानकारी दिनुभयो । परियोजनाका अनुसार २२ महिना भित्र योजना सम्पन्न गर्ने गरी गत वर्ष पुसको दोस्रा हप्ता ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार गत वर्ष कालिपुल वसपार्क स्थित कालिगण्डकी नदीले कटान गरेको क्षेत्रमा ८० मिटर पक्की पर्खाल निर्माण सम्पन्न गरिएको छ । चालु आर्थिक वर्षको जेठ महिना भित्र जेसिज भवन देखि उद्योग वाणिज्य संघको कार्यालय पछाडी सम्मको एकसय ३५ मिटर पक्की पर्खाल निर्माण सक्ने गरी काम थालिएको उहाँले बताउनुभयो ।

रौताह–बिएनबी कन्ट्रक्शन जेभीको सहायक निर्माण कम्पनी माउन्ट धवलागिरि कन्ट्रक्सनका प्रतिनिधि विक्रम हमालले नदी किनारमा पक्की पर्खाल निर्माण गर्न जग खन्न थालेको बताउनुभयो । एक्साभेटरको प्रयोग गरेर काम थालिएको उहाँले बताउनुभयो । तोकिएको समयअवधि भित्र निर्माण सम्पन्न गर्न दुईचरणमा दिन र रातमा गरी काम थालिएको उहाँले बताउनुभयो ।

नदी किनारमा चौध मिटर फराकिलो जग ढलान गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र ८ मिटर अग्लो आरसिसी पर्खाल निर्माण गर्ने योजनामा उल्लेख छ । दुईवर्ष अघि कालीगण्डकीमा आएको बाढीले बेनीको संगमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो । वर्षातका समयमा नदी कटानबाट बजारलाई जोगाउन पक्की पर्खाल लगाउन थालिएको बेनी नगरपालिका ७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो । कालिगण्डकी नदीले कटान गर्ने उच्च जोखिम क्षेत्रमा वर्षातका समयअघि नै योजना सम्पन्न गर्न वडाले सहजीकरण गरेको उहाँले बताउनुभयो ।

परियोजनाले यसअघि म्याग्दी बेनीतर्फ तीन करोड तथा पर्वत बेनीतर्फ दुई करोड बराबरको नदी नियन्त्रणको काम सम्पन्न गरिसकेको छ । म्याग्दी खोला तर्फ मंगलाघाट देखि बेनी नगरपालिकाको कार्यालय सम्मको भागमा पक्की पर्खाल लगाउन ठेक्काको प्रक्रिया थालिएको परियोजनाले जनाएको छ ।

कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनीबजारलाई संरक्षण गर्न करिब ५३ करोड बराबरको लागत अनुमान गरिएको गुरुयोजना तयार गरी पक्की पर्खाल लगाउन थालिएको हो । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बेनी नगरपालिकाले बनाएको छ । साभार ः गोरखापत्र दैनिकबाट

Leave a Reply