म्याग्दीको मंगला गाउँपालिका-१,कुहुँस्थित एक विद्यालयमा शैक्षिक तथा खेलकुद गतिविधि सञ्चालन गर्ने गरी स्वर्गीय आमाबुबाको नाममा छोराले अक्षय कोष स्थापना गरेका छन । समाजसेवी स्वर्गीय गणेशबहादुर र पोविसरा रोकाको स्मृतिमा छोरा मुक्ति रोकाले स्थापना गरेको गणेश पोविसरा स्मृति कोषले दिपशिखा माविमा १० लाखको अक्षय कोष स्थापना गरेको हो ।

कुहुँ तुसारेपानी घरभई हाल अष्ट्रिलियामा बस्ने रोकाले स्वर्गीय बुबाआमाको स्मृतिमा स्थापना गरेको कोषमार्फत खेलुकद सहितका शैक्षिक गतिविधिलाई थप सहज बनाउन कोष बृद्धि गरी १० लाख पु¥याएको विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बताउनुभयो । ‘विद्यालयको शैक्षिक विकासमा रोका परिवारको ठूलो योगदान छ,‘कोषमार्फत हरेक बर्ष विविधि कार्यक्रम हुन्छ’ प्रअ खत्रीले भन्नुभयो ।

स्मृति कोषमा रहेको४ लाख ६० हजारलाई बढाएर कोष र विद्यालयको नामबाट खाता सञ्चालन गर्ने गरी १० लाख पु¥याइएको प्रअ खत्रीको भनाई छ ।उहाँका अनुसार पोविसराले कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएपछि श्रीमान बि.स २०६३ सालमा तत्कालिन कुहूँ गाविसका सचिव गणेशबहादुर रोकाले दीपशिखा माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक पुरस्कार वितरण सुरु गर्नुभएको थियो । समाजसेवी रोकाको कोरोना संक्रमणको कारण निधन भएपछि कोषको नाम गणेशबहादुर र पोविसरा रोकाको स्मृति नामाकरण गरिएको थियो ।

कोषका संरक्षक मुक्ती रोकाले मातापिताको समाजसेवाको यात्रालाई निरन्तरता दिन कोषमार्फत शैक्षिक तथा खेलकुद गतिविधि अगाडी बढाएको बताउनुभयो ।  ‘विपन्न विद्यार्थीको पठनपाठनमा कोषले सहयोगी भूमिका खेल्ने छ,‘समुदायको साथ र मायाँले उत्साहित छु‘ रोकाले भन्नुभयो । कोषमार्फत शैक्षिक, खेलकुद बाहेक स्वास्थ्य शिविर सहित आर्थिक अभावका कारण समस्यामा परेकाको उपचारमा समेत सहयोग गर्ने गरिएको छ । कोषको वार्षिक ब्याजबाट शैक्षिक र खेलकुद गतिविधि सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

कोषबाट आयोजना हुने मंगला गाउँपालिकाभित्रका माविस्तरीय गणेश–पोविसरा स्मृति तथा दीपशिखा कपमा गापभित्रका ५ वटै वडाका विद्यालयले प्रतिस्पर्धा गर्ने गरेका छन् ।

यसैबीच कोषको आर्थिक सहयोगमा सोमबारदेखि सुरु भएको भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगितामा छात्रातर्फ ५ र छात्रतर्फ ६ टिमको सहभागिता रहेको छ । सोही अवसरमा कोषलेदीपशिखा माविलाई २ थान भलिबल, १ थान जाली, १ थान स्कोर बोर्ड, १६ थान खेलाडीको पोशाक हस्तान्तरण गरिएको थियो । विद्यालयस्तरीय प्रतियोगिता भएकाले खेलाडीको पहिचानमा समेत सहज हुने विद्यालयले जनाएको छ ।

 

Leave a Reply