---Advertisement---

म्याग्दीको तातोपानी कुण्डमा पाँचहजार बढी बिरामी

On: December 27, 2022 9:05 AM
Follow Us:

प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधीमा पाँच हजार भन्दा बढी विरामीले उपचार सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७९÷०८० को साउन देखि मंसिर मसान्तसम्म पाँच हजार चार सय ३८ जना विरामीहरुले तातोपानी कुण्डमा एक हप्तादेखि १० दिनसम्म डुवेर उपचार सेवा लिएका तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो ।

सचिव केसीले दिएको जानकारी अनुसार साउनमा दुई सय ६४, भदौमा चार सय ११, असोजमा एक हजार नौ सय दुई, कात्तिकमा एक हजार पाँच सय ४८ र मङ्सिरमा एक हजार तीन सय १३ जनाले तातोपानी कुण्डमा स्नान गरेका छन् । त्यसैगरी पुस महिना सुरु भएदेखि तातोपानी स्नान गर्नेको दैनिक तीन सय जनाको हाराहारीमा रहेको छ ।
विरामीहरुको चाप बढेपछि दैनिक दुई÷दुई घण्टाका दरले पुरुष र महिलालाई दुई÷दुई वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको समितिका सचिव केसीले बताउनुभयो ।

मंसिर महिनामा मात्र नेपालका विभिन्न ३३ जिल्ला र भारतका गरी १ हजार ३ सय १३ जना विरामीहर यहाँ आएका तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा उल्लेख भए अनुसार मंसिर महिनामा म्याग्दीबाट ३ं९५,बाग्लुङ ३३५, कास्की १४०, काठमाडौ १०३, रुपन्देही ६९, पर्बत ६३, नवलपरासी २९, मुस्ताङ २७,चितवन २५,तनहुँ १९, कपिलबस्तु १४, नुवाकोट १२, मोरङ १० बाँरा ९, डोल्पा ७, रोल्पा ६, स्याङजा ५, गोर्खा ५,गुल्मी ५,बर्दिया ४, रुकुम ४, उदयपुर ३, कैलाली ३, बाँके ३, झापा ३,धादिङ ३, रसुवा २, दोलखा २, दाङ २, पाल्पा १, प्यूठान १, मकवानपुर १, अर्घखाची बाट १ र भारतबाट २ जना गरी जम्मा १हजार ३ सय १३ जना विरामीहरुले यहाँबाट उपचार सेवा लिएका छन् ।
मंसिर महिनामा उपचारका लागि आउनेहरुमा महिलाको संख्या ८ सय ४५, पुरुष ४ सय ६८ जना रहेका समितिको तथ्याङ्कमा उल्लेख छ ।

चिसो बढेसँगै तातोपानी स्नानका लागि आउने बिरामीको अतिरिक्त पर्यटकको पनि चाप बढेको समितका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो । सहजरूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरक–फरक समयतालिका उहाँले जानकारी दिनुभयो । वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सयले स्नान गर्नसक्ने क्षमता छ । छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एक पटकका लागि प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।

एक दिनमा दुई पटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कदासम्म विश्राम गरिन्छ ।सात दिन स्नानका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।