पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । हालसम्म कुल ४ सय ३१ जना शेयर सदस्य रहेको सहकारीको गत आवसम्म शेयर पुँजी ५४ लाख २९ हजार आठसय रुपैयाँ, निक्षेप बचत १७ लाख एकहजार पाँचसय ६१ र लगानी ४५ लाख एकहजार पाँचसय ७७ रुपैयाँ रहेको छ ।

साधारणसभाको अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी संघको साना किसान सहकारी अनुसरण कार्यक्रममार्फत प्रवद्र्धित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थालाई परिपक्वताको प्रमाणपत्र प्रदान गरी व्यवस्थापन हस्तान्तरण गरिएको थियो । यसैगरी सोही अवसरमा संघमार्फत कृषि सहकारीलाई सम्झौताको प्रमाणपत्र र सम्झौतापत्र पनि हस्तान्तरण गरिएको संघको इलाका कार्यालय पोखराका प्रवन्धक विदुर अर्यालले जानकारी दिनुभयो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तिलकसिंह ठकुरीलाई व्यवस्थापन हस्तान्तरण र सम्झौतापत्रको प्रमाणपत्र तथा सम्झौतापत्र हस्तान्तरण गर्नुभएको थियो । साधारणसभाको उद्घाटन तथा प्रमाणपत्र हस्तान्तरण गर्दै केन्द्रीय संघका अध्यक्ष पाठकले सहकारी संघसंस्थालाई राम्रो बनाउनका लागि शेयर सदस्यहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सहकारीले आर्थिक कारोबारसँगै समुदायस्तरमा चेतना फैलाउने पनि काम गरेको भन्दै केन्द्रीय संघका अध्यक्ष पाठकले संघमार्फत प्रवद्र्धित साना किसान कृषि सहकारीहरुले महिलाहरुलाई लक्षित गरेर टनेलमा तरकारी खेती गर्ने, सिलाइकटाइको तालिम दिने, अचार तथा मैनबत्ती बनाउने, पुरुषहरुका लागि सिकर्मी, डकर्मी, स्काफोल्डिङ जस्ता तालिमहरु सञ्चालनमा जोड दिइएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी संघका सञ्चालक कृष्णबाबु श्रेष्ठले संस्थामार्फत साना किसान सहकारीहरुको व्यवस्थापन र सञ्चालनमा आवश्यक सहयोग गर्दै आइरहेको बताउँदै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीलाई नियमन गर्नको लागि गाउँपालिकाको आगामी हिउँदे गाउँसभाबाट सहकारी ऐन निर्माण गरी सहकारीहरुको व्यवस्थापन गरिने जानकारी दिनुभयो । उहाँले मालिका गाउँपालिका कृषि र फलफुलको उर्वरभूमि रहेको बताउँदै मुख्यमन्त्री कृषि कार्यक्रममार्फत कृषिजन्य उत्पादनलगायत कृषि कार्यक्रमहरु सञ्चालन गर्न गण्डकी प्रदेशमा आवश्यक पहल गरिएको बताउनुभयो । पालिकामार्फत भू–उपयोगको नीति ल्याएर खाली तथा बाँझो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गरिने उहाँको भनाइ छ ।

साधारणसभाको अवसरमा कृषि सहकारी संस्थाले संस्थामा उत्कृष्ट कारोबार गर्नेहरु हस्तबहादुर जुग्जाली, सुशीला श्रेष्ठ सिउँथानी, रोजिना पुन र उमादेवी पुनलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । साधारणसभामा सहकारीका अध्यक्ष ठकुरीले संस्थागत र प्रवन्धक भीमबहादुर अर्मजाले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कृषि सहकारीद्वारा उत्पादित तरकारी, फलफुल र कृषिजन्य उत्पादनको प्रदर्शनी समेत गरिएको थियो ।

दरबाङका वडा अध्यक्ष पथबहादुर रोका र जनआदर्श महिला बहुउद्देश्यीय सहकारी संस्था बाबियाचौरका अध्यक्ष यशुदा रोकाले मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाका अध्यक्ष तिलकसिं ठकुरीको अध्यक्षता, सल्लाहकार सन्तोष सुवेदीको स्वागत र सदस्य अमृत सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । कृषि सहकारीको साधारणसभाको अवसरमा राष्ट्रिय कलाकार पुरुषोत्तम भण्डारी (पुर्खेबा)ले आफ्नो हाँस्यव्यङ्ग्यसहित साङ्गीतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी साधारणसभामा संस्थाका अध्यक्ष ठकुरीले सल्लाहकार सुवेदीलाई अध्यक्षको पद हस्तान्तरण गर्नुभएको थियो । अध्यक्षको पद ग्रहण गर्दै सुवेदीले सहकारीमार्फत आगामी दिनमा समूहमा फरकफरक खालका कृषि उत्पादनहरु गर्ने, सदस्यहरुलाई परिचयपत्रको व्यवस्था, एकदेखि १० प्रतिशतसम्म सामानमा छुट दिइने बताउनुभयो । त्यस्तै अनलाइन सेवाको विस्तार गर्ने, एक घर एक शेयरलाई प्राथमिकता दिने, शेयर पुँजी वृद्धि गर्ने, बाँझो तथा खाली जग्गाको उपयोग गरी कृषिजन्य उत्पादन गर्ने र किसानहरुलाई आत्मनिर्भर बनाउने योजनहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply