उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङको बेंसी गाउँको सिरमा अवस्थित मनमोहक झरना पछिल्लो समय पर्यटकको रोजाईमा परेको छ । पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै सुन्दर, आकर्षक अनि मनमोहक झरनामा आन्तरिक पर्यटक पुग्न थालेपछि आवश्यक पूर्वाधार विस्तार गरिएको छ ।

अग्लो र भिरालो पहाड । पहाडको टुप्पोबाट उडेर बग्ने झरनामा पुग्ने स्थानीय वडा, गाउँपालिका र गण्डकी प्रदेश सरकारले समेत बजेट विनियोजन गरेपछि बनेको पूर्वाधारले समेत घुम्न जाने पर्यटकलाई सहज भएको छ । पछिल्लो समय मुस्ताङ घुम्न जानेका साथै म्याग्दी जिल्लाभित्रबाट नै घुम्न जानेको रोजाइमा पर्दै गएको छ ।

झरनाकै कारणले गर्दा पछिल्लोपटक नारच्याङ गाउँमा पर्यटकको चहलपहल बढेको छ । समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा अवस्थित नारच्याङ झरनाको उचाई मात्र ३ सय मिटरभन्दा बढी छ । नारच्याङ गाउँमा मानव बस्तीभन्दा धेरै पहिलेदेखि नै त्यस ठाउँमा झरना रहेको वडा सदस्य श्याम पूर्जाले बताउनुभयो ।

स्थानीय आमा समुह, यूवा क्लव लगायतले समेत सरसफाई सहितका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । नारच्याङ झरनाभन्दा माथि मानव बस्ती नभएको हुँदा झरना एकदमै सफा रहेको छ भने झरनाको तल फेदीमा भुमेथानको मन्दिर रहेको छ ।  भुमेथान मन्दिरमा आफ्नो मनोकामना पूरा हुने भएकाले भक्तजनको भिड लाग्ने अन्नपूर्ण यूवा क्लवका अध्यक्ष टकबहादुर पुनले बताउनुभयो ।

यता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले वडास्तर बाहेक डिपिआर तयार गरी प्रदेशबाट समेत यसबर्ष बजेट विनियोजन गरिएको बताउनुभयो । गाउँपालिकाले झनरामा सम्भावित अन्य सहासिक खेलहरुको समेत सम्भावनाका बारेमा खोजी गरेको बताउनुभयो । झरना आसपासमा रक क्लाइमिङ, क्यानोनिङ लगायतका सहासिक खेलहरु सञ्चालन गर्न सकिन्छ । यसैबीच झरनाको प्रचारप्रसारमा सघाउन बुधबार म्याग्दी मिडिया सोसाईटीले समेत साधारणसभा तथा नारच्याङ घोषणापत्र जारी गरेको छ ।

Leave a Reply