गएको एक साता यता म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण बंगुर मर्न थालेका छन्।सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बंगुरमा सङ्क्रमण देखिएपछि हालसम्म ३ सयभन्दा बढी बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ।

व्यावसायिक रुपमै फार्ममा पालिएका बंगुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताए।

पहिलो पटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, नौलीबगरको बंगुरमा पशुपन्छी अन्वेषण प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरकाे पुष्टि भएको थियो।

नौलीबगरमा ४० भन्दा बढी बंगुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखा सहितको टोलीले अनुगमन गरेको थियो। बंगुर फार्मबाट लैजाने मासु पसल सहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ।

केन्द्रका प्रमुख आचार्यले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताए। बंगुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन्। यो रोगको पूर्ण उपचार नभए पनि ६–६ महिनामा बंगुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने प्रमुख आचार्यको भनाई छ।

बेनी नगरपालिका–७, मंगलाघाटमा साढे २ सय बंगुर मरेको अवस्थामा भेटिएको बेनी नगर पशु शाखाले जनाएको छ। ‘फिभरको इन्ट्री भएको छ, ‘अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित छौ’ पशु प्राविधिक प्रदिप गौतमले भने। ‘यो फार्मबाट अन्यत्र पनि सङ्क्रमण फैलिएको हुन सक्छ भनेर केही ठाउँमा परीक्षण गरिएको छ’ गौतमले भने।

उनले ‘रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामे ५, टकबहादुर बुढाथोकीको ६५ वटा, टिका रोकाको २६ वटा पूर्वराज घर्तीको ७ वटा’ बंगुर मरेको विवरण संकलन गरिएको बताए।

‘केही फार्म रित्तिन थालेको छ,‘बाहिरी जिल्लाबाट ल्याएकोमा सङ्क्रमण फैलिएको भेटियो’ शाखा प्रमुख गौतमले भने। उनका अनुसार सबैतिर नफैलिएकाले सङ्क्रमण देखिएको स्थानमै केन्द्रित भएर रोकथाम र सतर्कता आवश्यक रहेको उनको भनाइ छ।

समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौँको क्षति हुने व्यवसायीको भनाई छ। जिल्लाभित्र बंगुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बंगुरपालक कृषकको भनाई छ।

घरपालुवा सुँगुर–बंगुर तथा जंगली प्रजातिमा विषाणुका कारण सर्ने अफ्रिकन स्वाइन फिभर रोग उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग हो। अफ्रिकन स्वाइन फिभर फैलिन नदिन सुँगुर पालिएको खोर र फार्म परिसर सफा राख्ने र समय–समयमा निः सङ्क्रमण गर्नु आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।

पछिल्लो समय अधिकांश क्षेत्रमा सङ्क्रमण देखिएकाले रोगको शङ्का लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटेल तथा रेस्टुरेन्टबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्नुपर्ने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अनुरोध गरेको छ।

Leave a Reply