म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ। बेनी नगरपालिकाले बजारभित्र बषौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक-पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा गरेपछि नगरपालिकाले भत्काएको छ ।

नगरपालिकाका मेयर सुरत केसीको अगुवाईमा बेनीबजारको प्रवेशद्धार कालिपुल बसपार्क आसपासका क्षेत्रमा सार्वजनिक जग्गा भाडामा लिएर अस्थायी संरचना बनाएका यातायात कम्पनीहरु, व्यवसाय गर्दै आएका ब्यापारीसँष्को सम्झौता म्याद सकिएपछि थप नगरी ठाउँ खाली गरिएको नगरप्रमुख सुरत केसीले बताए ।

‘यो अभियान निरन्तर रहन्छ,‘अतिक्रमण हटाउने र संरक्षणको अभियानलाई सघाउन अनुरोध गरेका छौ’मेयर केसीले भने । नगरकार्यपालिकाले म्याद थप नगरेपछि सम्बन्धित पक्षलाई ब्यक्तिगत तथा सार्वजनिक सूचनाको माध्यमबाट हटाउन गरिएको अनुरोधलाई विभिन्न बाहनामा अटेर गरेपछि डोजर लिएर ठाउँ खाली गरिएको बताए । मेयर केसीले बजारभित्रका अन्य स्थानमा समेत सम्बन्धित पक्षले अटेरी गरेमा बाध्य भएर भत्काउन पर्ने बताए ।

कालीपुलको बसपार्क विस्तार र निर्माणका लागि टिकट काउन्टर, रेष्टुरेष्ट, सार्वजनिक शौचालय, कालिपुल यूनाइटेडको क्लव भवन, म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको घेराबार पर्खाल भत्काइएको वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । उनले सोही क्षेत्रमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन अगाडिको घेराबार पर्खाल पनि हटाइने बताए ।

सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले कालीपुल बसपार्कको डिपिआर अनुसार निर्मित टर्मिनल भवन, कालिगण्डकी नदी कटानबाट जोगाउन आवश्यक पर्ने संरचनालाई सहज हुने गरी बाँकी अस्थायी संरचना एक हप्ताभित्र खालि गरिने उनले बताए ।

यता वडा नं २ र ७ मा पर्ने नगरकार्यपालिका अगाडी रहेको मोटेरेबल पुल आसपासमा निर्मित संरचना र बिरेन्द्रचोकमा रहेको टहरा, ठेलाहरु समेत हटाउन पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरिएको छैन्। बजारभित्र नगरपालिकालाई सस्तो भाडा दिएर चर्को भाडा असुल्ने, सार्वजनिक जग्गामा निर्मित संरचना सुटुक्क बिक्री गर्ने तथा अनुमति विनै मनपरी संरचना थप गर्ने गरिएको छ । सार्वजनिक टहरा भत्काएर पछि पार्क, पार्किङस्थल लगायत आवश्यक संरचना बनाउने नगरपालिकाले जनाएको छ ।

Leave a Reply