म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा सञ्चालित एकिकृत विकास परियोजनाको सन २०२२ को प्रगति विवरण सार्वजनिक भएको छ । बेनीमा भएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संगम र कदम म्याग्दीले गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा धवलागिरी र मालिका गाउँपालिकासँगको समन्वयमा भएका गतिबिधि विवरण सार्वजनिक गरिएको हो।

म्याग्दीमा सन २०१३ देखि शुरु भएको परियोजना सन २०१७ देखि गैरसरकारी संस्था मार्फत सञ्चालन भएको छ । धवलागिरीको सात वटै र मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा परियोजना लागू भएको छ । संगम मार्फत शिक्षा, जिविकोपार्जन, बालसंरक्षण, विपद् व्यवस्थापन तथा कदम मार्फत जनस्वास्थ्य र सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालन हुदै आएको छ ।

संगमका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढामगरले दक्षिण कोरीयाका प्रायोजकहरुले एक हजार ३५१ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री र पोशाक सहयोग गरेका बताउनुभयो । सिकाई उपलब्धी बढाउन विद्यालयहरुलाई सूचना प्रविधि सम्बन्धि सामग्री सहयोग र शिक्षकहरुलाई तालिम दिइएको बताउनुभयो । २१८ जनालाई उच्च शिक्षामा सहयोग, पाँच वटा बाल विकास कक्षा व्यवस्थापनमा सहयोग गरिएको बताउनुभयो ।

चार वटा सहकारी संस्था मार्फत गुर्जा, लुलाङ, मुना र मुदीका ७१ जनालाई सहयोग गरिएको छ । १० वटा वडाका विद्यालयमा बाल क्लव गठन गरी बाल अधिकार, बाल संरक्षण र बाल बिवाह विरुद्धको तालिम दिइएको छ । कदमका जनस्वास्थ्य निरिक्षक निरमाया मिजारले परियोजनाको साझेदारी र समन्वयमा स्वास्थ्य संस्थाको प्रसुति गृहलाई सामग्री सहयोग, एक हजार १७२ जना स्पोन्सर र दुई हजार ३७३ जना अन्य बालबालिकालाई सहयोग गरिएको बताउनुभयो ।

बालबालिकाको विद्यालयमै स्वास्थ्य परिक्षण, स्वास्थ्य संस्थाको सूचना व्यवस्थापन, महिनावारी स्वच्छता सम्बन्धी तालिम, महिला स्वास्थ्य स्वमसेविकाहरुलाई तालिम, स्वास्थ्य उपकरण, ४ वटा विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन कर्नर स्थापना, ५ वटा स्वास्थ्य संस्थामा स्वच्छ खानेपानी व्यवसथापन गरिएको छ । ताकम स्वास्थ्य चौकी परिसरमा हात धुने स्थान सहितको खानेपानी धारा निर्माण भएको छ ।

गुड नेवर्स इन्टरनेशनलका म्याग्दी जिल्ला परियोजना संयोजक मनकुमार राईले साझेदार संस्थाहरु मार्फत शिक्षा, स्वास्थ्य, आयआर्जन सुधारका साथै बालअधिकारको पैरवी, सरसफाई र विपद् व्यवस्थापनका गतिबिधि सञ्चालन भएको बताउनुभयो । परियोजनामा स्थानीय तहहरुले पनि साझेदारी गरेका छन् । बैठकमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले परियोजनालाई उद्देश्य अनुरुप कार्यान्वयन र लक्ष्य प्राप्तिमा केन्द्रित हुन सुझाव दिनुभयो ।

परियोजनाका उपलब्धीहरु समुदाय स्तरमा देखिनुपर्ने जिसस प्रमुख थापाको भनाई थियो । कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी पुन, धवलागिरी गाउँपालिका १ का अध्यक्ष झक छन्त्याल, ३ का अध्यक्ष देवेन्द्र रोका, कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देल, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, कदमका अध्यक्ष हरिप्रसाद पौडेल, कदमका कार्यकारी निर्देशक दिपक पौडेल लगायतको उपस्थिति थियो ।

Leave a Reply