म्याग्दीको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५ को पछैमा गत वर्षदेखि उक्त उद्यान निर्माण सुरु गरेको थियो ।

बजेट अभावका कारण निर्माण रोकिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । ‘कर्मचारीले भौतिक र वित्तीय प्रगति विवरण नपठाएका कारण बजेट काटिँदा उद्यान निर्माणको काम रोकिएको हो,’ उनले भने,’बजेटलाई निरन्तरता दिन मन्त्रालयसँग समन्वय गरिएको छ । मन्त्रालयले बजेट नपठाउँदा निर्माण व्यवसायीले भुक्तानी नपाएर काम गरेका छैनन् ।’

समस्या पहिचान भएपछि तत्कालै प्रतिवेदन पठाएर चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको र निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गरिएको नगर प्रमुख केसीले बताए । उद्यान बनाउन काठमाडौँको धर्मा एस कास्यप जेभीले गत भदौमा रु एक करोड ७६ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले उद्यान निर्माणस्थल घेराउका लागि पर्खाल निर्माण र मूर्ति तयार पारेको छ ।

पर्यटन मन्त्रालयले रु दुई करोड ११ लाख र नगरपालिकाले रु एक करोड १४ लाख विनियोजन गरेर ठेक्का आह्वान गरिएको थियो । विसं २०७९ पुसमा उद्यान निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि बजेट अभावका कारण सफल नभएको निर्माण कम्पनीका इञ्जिनियर सन्तोष ओझाले बताए । पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मूर्ति राख्ने, बगैँचा निर्माण, नाबी गाडेकोलगायत ठाउँको संरक्षणका लागि पूर्वाधार र दुई सय मिटर कालोपत्र गर्ने योजना छ । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रामायण पार्क बनाउन लगाएको हो ।

हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत् राखेर पूर्वाधार बनाइने भएको छ । धर्मग्रन्थ भागवत रामायणको पाँचैँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेकोबारे रामायणमा व्याख्या गरिएको छ । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ ।

समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमशृङ्खला, सूर्योदय, बेनीबजारलगायत म्याग्दी, पर्वत र बागलुङको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । बेनीबजारदेखि गाडीमा तीस मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । रासस

Leave a Reply