म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ । आइतबारदेखि खुल्लामञ्चमा सुरू भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं विद्यालयस्तरबाटै खेलप्रतिभाको पहिचान गर्न प्रतियोगिता कोशेढुंगा सावित हुने बताए ।

समन्वय प्रमुख थापाले विद्यार्थीहरुलाई रुची र क्षमता अनुसारको खेलमा सहभागीताको वातावरण बनाउन स्थानीय तहमार्फत विभिन्न समयमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बताए ।

पालिकास्तरीय, अन्तरपालिका हुदै जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई प्रदेश र राष्ट्रियस्तरका खेलमा सहभागी हुन आवश्यक तालिम सहितका सुविधामा समेत ध्यान दिन अनुरोध गरे ।

सोही अवसरमा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, कार्यपालिका सदस्य तथा प्रतियोगिता व्यवस्थापन तथा संचालन उपसमितिका संयोजक कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न पूर्वाधारको आवश्यकता रहेको बताए ।

नगर प्रमुख सुरत केसीको अध्यक्षता, उपप्रमुख ज्योति लामिछानेको स्वागत र शिक्षा अधिकृत कमल ढकालको संचालनमा सम्पन्न भएको थियो। पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागी छन् ।

प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्ी एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा १५ वटा सामुदायिक, १० वटा निजी मावि, म्याग्दी बहुमुखी क्याम्पस र बालमन्दिर आधारभूत विद्यालय गरी २५ वटा विद्यालयहरुले सहभागिता जनाएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगिता सञ्चालन र जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनका लागि नगरपालिकाले गौरवको कार्यक्रमको रुपमा १२ लाख बजेट बिनियोजन गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई ५१ हजार, ४० हजार र ३० हजार शिल्ड, खेलाडीलाई मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारका साथै सहभागि हुने विद्यालयलाई प्रशिक्षण खर्च उपलब्ध गराइने नगर प्रमुख केसीले बताए। नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

म्याग्दीका अन्य स्थानीय तहले समेत प्रतियोगिता सम्पन्न गरेपछि जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।  

Leave a Reply