बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रमको बजार परिक्रममा अग्रपंक्तीमा नौमति बाजाको दमाह लिएर सहभागी भएकी थिईन लक्ष्मी ठकुरी । उमेरले ६० लागेकी ठकुरीको नेतृत्वमा रहेको नब जागरण पञ्चे बाजा समुहका सदस्यहरूले लस्करै झ्याली, ट्याम्को, ढोलकी, नरसिङ्गा र सहनाई लगायतका बाजा उद्घाटन कार्यक्रममा बजाए ।

बेनी नगरपालिका–४,राक्सेमा विगत तीनबर्षदेखि पञ्चे बाजाको संरक्षणमा लागेका समुहमा आवद्ध महिलालाई ब्यक्तिगत तथा सार्वजनिक कार्यक्रममा बाजा बजाउने भ्याईनभ्याई छ । स्थानीय वडाको सहयोगमा तालिम लिएर निरन्तर बाजाको संरक्षणमा लागेको समुहले पोखरा र काठमाण्डौमा समेत पुगेर आफ्नो प्रस्तुती देखाएको छ।

‘अहिले निकै सजिलो हुन्छ,‘हामीले निम्तो आएमा घरायसी काम छोडेर पनि सहभागी हुन्छौ’ समुहकी अध्यक्ष ठकुरीले भनिन्। उनले विवाह, व्रतवन्ध, धार्मिक तथा सामाजिक उत्सवमा बाजा बजाएर समुहमा १ लाखभन्दा बढी संकलन समेत गरेको बताईन् ।

‘समुहका सदस्यको खर्च कटाएर बचत समेत गरेका छौ,‘बाजा संरक्षणमा समेत सहयोग पुगेको छ’ उनले भनिन् । महिला समुहको सक्रियताले ब्राह्मण–क्षेत्री समुदायका महिलाले बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यता तोड्न सफल भएको ढलकी बाजामा रहेकी दुर्गा पौडेलले बताईन् ।

‘हाम्रो समुहमा सबै जातिका छौ,‘दलित यूवाहरुको सहयोगले यो सिप सिक्न सफल भयौं’ पौडेलले भनिन् । १० जना महिला आवद्ध रहेको समुहमा सनैको सुरिलो लय ढ्लकी, ट्याम्कोे दमाहा लगायतका बाजासँगै आकाशतिर फर्काएर नरसिङ्गाको धुनसँगै समुदाय समेत एकजुट भएकोे उनले बताईन् । केहीदिनको रहर भन्नेहरुले नै महिलालाई बाजा बजाउन निम्तो दिने गरेको प्रशिक्षक एवम् बाजामा सघाउने प्रकाश परियारले बताए ।

उनले सुरुवातमा केही असहज भए पनि अहिले भने आकर्षण बढ्दै गइरहेको र यसलाई सीप हस्तान्तरणको अभियानका रुपमा लिएको बताए । मनदेखि नै इच्छाशक्ति भएकाहरु त परिवारका सदस्यले विरोध गर्दागर्दै पनि यस अभियानमा सरिक भएकाले निरन्तरता पाएको प्रशिक्षक परियारको भनाई छ ।

महिला समुहले १५ हजारदेखि ४० हजारसम्म लिने गरेका छन् । बाजामा दमाई जातिका मानिसको नै वर्चस्व हुने गरेको अवस्थामा ब्राह्मण, क्षेत्री, दमाई, कामीले संयुक्त रुपमा बाजा सिक्नुलाई समाजमा परिवर्तनको एउटा उदारहणको रुपमा लिइएको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले बताईन् । उनले महिलालाई सिप हस्तान्तरण सहित आयआर्जनका क्षेत्रमा समेत सहज हुने गरी सहयोग गर्ने बताईन् ।

‘परम्परागत मान्यता तोड्दै बह्माण–क्षेत्री समुदायका महिलाहरुको प्रयासबाट उत्साहित भएको छु’ उपमेयर लामिछानेले भनिन् ।उनले नगरपालिकामार्फत आयोजना हुने सार्वजनिक कार्यक्रममा महिला समुहलाई प्राथमिकता दिने बताईन् । म्याग्दीमा दमाई जातिका मानिसको नै वर्चस्व हुने गरेको अवस्थामा जातिय विभेद र सहभागीताको अन्त्य गदैं ब्राह्मण, क्षेत्री, दमाई, कामीले संयुक्त रुपमा बाजा सिक्नुलाई समाजमा परिवर्तनको एउटा उदारहणको रुपमा लिइएको जनप्रतिनिधिको भनाई छ ।
बेनी नगरपालिका–४,राक्सेमा विगत तीनबर्षदेखि पञ्चे बाजाको संरक्षणमा लागेका महिलाहरु । तस्वीर हरिकृष्ण गौतम

Leave a Reply